पोखरामा प्रथम पर्वतीय दौड, एक सय चार जना धावक सहभागी हुने

  • पोखरा न्यूज
  • २०८१ आश्विन १०
पोखरामा प्रथम पर्वतीय दौड, एक सय चार जना धावक सहभागी हुने

|फाइल तस्बिर : सुदर्शन रञ्जित

पोखरा । पोखरा क्लिकद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ ।

असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगितामा नेपाल, बेलायत र ब्राजिलका ७१ पुरुष र ३३ महिला धावक गरी कुल एक सय चार जनाले सहभागिता जनाउने भएका छन् । जसमा सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र सबैभन्दा कान्छा नौ वर्षीय बालकसमेत सहभागी हुँदैछन् ।

पोखरा क्लिका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार दौड विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा-२२ को कार्यालय हुँदै बुद्धपार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिनेछ ।

आठ किमी दौडमा खुला, महिला, वडास्तरीय र यू-१६ गरी चार इभेन्ट समावेश गरिएको उनले बताए ।

खुलातर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले सात हजार नगद पुरस्कारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिला धावक र यू-१६ बालबालिका, पोखरा २२ का धावकमध्ये उत्कृष्ट एक-एक जनाले सात, सात हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पुर्याउने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट तथा अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई सम्मान गरिने संयोजक बरालले बताए ।

विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगिताले पर्यटनको राजधानी पोखराको प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्धपार्कको प्रचारप्रसार हुने र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ ।

दौडका लागि ट्रयाक मर्मत गरिएको पोखरा-२२ का वडाध्यक्ष हिमलाल बरालले बताए । उनले आफ्नो गाउँठाउँमा प्रतियोगिता आयोजना गरेकोमा आफ्नै ठानेर सहयोग गरिएको बताए ।

नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष गोविन्द सुवेदी, पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पोखरा क्लिकका अध्यक्ष बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन पत्रकार असफल गौतमले गरेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न नौ उपसमिति गठन गरिएको थियो । प्रतियोगिताका लागि विभिन्न संघसंस्था तथा व्यक्ति विशेष सहयोग गरेका छन् ।

जसमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकी प्रवर्द्धक रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस