फेरि आउँदै ‘मह जात्रा’

  • पोखरा न्यूज
  • २०८१ आश्विन १०
फेरि आउँदै ‘मह जात्रा’

पाेखरा । मह जोडीले नेपालमा १० वर्षपछि मीरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः ‘मह जात्रा” नामक प्रहसनमार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने घोषणा गरेका छन् ।

प्रहसनमा ख्याति प्राप्त वरिष्ठ हास्यव्यंग्य कलाकार किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेतलगायतको प्रस्तुति रहनेछ ।

प्रहसनको मुख्य विशेषता हास्यव्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्या र विविध मुद्दालाई उजागर गर्नु हो।

नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुरीतिलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति मह जोडीको अद्वितीय शैलीमा हुनेछ।

१० वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आउने मह जोडीले आफ्नो पुरानो शैलीको हास्यव्यंग्यलाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकलाई हसाउँदै प्रहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य छ।

यस प्रहसनमा हास्य र सन्देशको मिश्रण हुनेछ जसले दर्शकलाई हसाउने मात्र होइन, समाजप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि गर्नेछ।

यो प्रहसन नेपाली समाजमा हालैका वर्षमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाको आलोचनात्मक दृष्टिकोण हुनेछ, जसले गर्दा दर्शकलाई हाँस्दै सोच्न बाध्य बनाउनेछ।

मह जात्रा मह सञ्चार र सुश्री मिडिया प्रालिको सहकार्यमा कात्तिक २२ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा हुनेछ भने प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ ।

मह जात्रा नेपाली हास्य व्यंग्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी, जसलाई नेपाली हास्य क्षेत्रमा मह जोडी भनेर चिनिन्छ । पाँच दशक भन्दा बढी समय विभिन्न माध्यमबाट मनोरञ्जन क्षेत्रमा आम नेपाली दर्शकलाई हाँस्य व्यंग्यमार्फत हसाउँदै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस