आज ४५औँ विश्व पर्यटन दिवस, पाेखरामा के-के हुँदैछ ?

  • पोखरा न्यूज
  • २०८१ आश्विन ११
आज ४५औँ विश्व पर्यटन दिवस, पाेखरामा के-के हुँदैछ ?

|फाइल तस्बिर

पाेखरा । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय राजधानी पोखरामा विभिन्न कार्यक्रम हुँदैछ । पर्यटन दिवसका सन्दर्भमा पोखराका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

जसमा होटल प्रतिनिधि समाज पोखराले पर्यटक बसपार्कमा विशेष कार्यक्रमको आयोजना गरेको छ । स्थल मार्गबाट पोखरा आगमन हुने सबै पर्यटकलाई समाजका पदाधिकारी र कार्यसमिति सदस्यले स्वागत गर्ने अध्यक्ष माधव लम्सालले जानकारी दिए ।


होटल बुक नगरी पोखरा आएका पर्यटकलाई आआफ्ना होटल प्रतिष्ठान राखेर कोठा भाडामा ५० प्रतिशतसम्म छुट दिने समाजले घोषणा गरेको छ ।

यता, पोखरामा आज मिनी सडक महोत्सव हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आज साँझ फेवाताल किनारकाे अम्बोटदेखि बाराही चोकसम्म एक दिने सडक महोत्सव गर्न लागेको हो ।

महोत्सवमा बाजा गाजासहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने महोत्सवका संयोजकसमेत रहेका रेवानका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए ।

‘सडक मै खाउँ, सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको उनले बताए ।

रेवान अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यहाँका विभिन्न जातीय संस्कृति, भेषभूषा, सांस्कृतिक नृत्य, पर्यटकीय ठाउँको दृश्यावलोकन वृत्तचित्र तथा स्वदेशी र विदेशी खानाका परिकार प्रस्तुत गरिने बताए ।

यता, पोखरा १७ रातोपहिरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउँदैछ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् आज संग्रहालयमा पुग्ने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

आज संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् ।

पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ देखि साँझ साढे ५ बजेसम्म खुला हुन्छ । पर्यटन दिवसकै सन्दर्भमा संग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्दैछ ।

रसियाली लेखक एवं पर्वतारोही युरी रोदिचेभले संकलन गरेका ४० फोटा शनिबार प्रदर्शनीमा राखिने न्यौपानेले जानकारी दिइन् ।

यता, युएनडब्लुटिओले यस वर्षको ४५औँ पर्यटन दिवसको नारा टुरिजम एण्ड पिस (पर्यटन र शान्ति) तय गरेको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा विविध कार्यक्रम हुने भएको छ ।

परिषद्को आयोजनामा ९-१२ असोजसम्म विभिन्न कार्यक्रम तय भएका थिए । परिषद् अध्यक्ष तारानाथ पहारीका पर्यटन दिवसमा नीति संवाद, घरबास कार्यक्रम, पदयात्रा, र्याली, रक्तदान, टक सो, पर्यटकलाई सम्मान, पर्वतीय दौड प्रतियोगिता हुँदैछन् ।

यता, दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्यरुपमा मनाउन लागिएको छ ।

दिवस भव्यरूपमा मनाउन संस्कृति,  र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ, नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ ।

दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । नेपाल अनुपम प्राकृतिक विविधता, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा विविधभाषा र वेशभूषाले भरिपूर्ण आफैँमा एउटा पर्यटकीय गन्तव्य हो ।

परम्परागत सांस्कृतिक सम्पदाको सङ्गम यहाँ हिमशृङ्खला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत आनन्द लिन हरेक वर्ष लाखौँ सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । खासगरी मनोरञ्जन, पर्वतारोहण, पदयात्रा, धार्मिक पर्यटन आदि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस