पोखरामा विश्व पर्यटन दिवस मनाइयो

  • पोखरा न्यूज
  • २०८१ आश्विन ११
पोखरामा विश्व पर्यटन दिवस मनाइयो

पोखरा । पर्यटन राजधानी पोखरामा ४५औँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । पोखरास्थित पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले लगातार वर्षा भइरहे पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको बताउँदै कार्यक्रम भने केही प्रभावित भएका जानकारी दिए ।

परिषद्ले आज पोखरा विमानस्थलबाट पहिलो उडानमार्फत पोखरा आउने पर्यटकलाई स्वागत गर्ने तयारी गरेको थियो । लगातारको वर्षाका कारण उक्त कार्यक्रम गर्न नसकिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

प्रत्येक वर्ष विश्व पर्यटन दिवसका अवसरमा पोखरामा हवाई र स्थल मार्गबाट आउने पर्यटकलाई पोखरामा स्वागत गर्दै विभिन्न प्याकेजसमेत उपलब्ध गराउने गरिएको छ ।

यता, होटल प्रतिनिधि समाज पोखराले स्थलमार्ग भएर आउने पर्यटकलाई पर्यटन बसपार्कमा स्वागत गरेको छ । ४५औँ पर्यटन दिवसका अवसरमा समितिले पर्यटकको स्वागत गरेको हो । शुक्रबार स्थालमार्गबाट पोखरा आएका १५ जना पर्यटकको स्वागत गरिएको समितिले जनाएको छ ।

समिति अध्यक्ष माधव लम्सालका अनुसार स्थलमार्गबाट होटल बुकिङ नगरी आएका पर्यटकलाई होटलको कोठा र खानामा विशेष छुट दिइनेछ ।

साथै समितिले होटलमा बास बसेका पर्यटकलाई बिनाशुल्क एक दिनको साइटसिन गराउने अध्यक्ष लम्सालले बताए । साथै प्याराग्लाईडिङमा छुट, एक रात खान र बस्नमा ५० प्रतिशतसम्म छुटलगायत सेवा समितिबाट प्रदान हुने उनले बताए ।

पर्यटन दिवसका अवसरमा समितिका पदाधिकारी र सदस्यबीच शुभकामना आदान प्रदान तथा पर्यटन र शान्ति विषयमा अन्तरक्रिया कार्यक्रमसमेत भएको छ ।

अध्यक्ष लम्सालको अध्यक्षतामा र शिवप्रसाद अधिकारीको संयोजकत्वमा कार्यक्रम भएको हो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायलगायते विश्व पर्यटन दिवस र पर्यटनका लागि शान्तिका विषयमना बोलेका थिए ।

साथै नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्रभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सङ्कलन गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिए ।

नाट्टा गण्डकी प्रदेशका तर्फबाट आजै स्थलमार्गबाट पहिलो पर्यटक सवारीसाधनमा यहाँ आउने पर्यटकलाई स्वागत एवं सम्मान गर्न लागिएको उनले बताए ।

कार्यक्रमका अवसरमा नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखराको लेकसाइडबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पर्यटक सवारीसाधन सहितको र्याली प्रदर्शन गरेको छ ।

र्यालीमा ६० वटा पर्यटक सवारीसाधन सहभागी गराइएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।

पोखरामा लगभग चार सय ५० को सङ्ख्यामा पर्यटक सवारीसाधनले सेवा प्रवाह गरिरहेका बताउँदै उनले नयाँ इम्बोष्ड नम्बरका नाममा यसको पहिचान हराउन नहुने सन्देश प्रवाहका लागि पनि र्याली आयोजना गरिएको जानकारी दिए ।

दिवसको पूर्वसन्ध्यामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले पोखरा-१८ स्थित रिञ्जे नासा होमस्टेमा घरवास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिइन् ।

ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले नयाँ पुल-मोरिया-लप्सीबोट हुँदै भुकदेउराली र त्यहाँबाट डाँडा कमेरे-फलाटे-ताङले-सरौँ सम्मको पदयात्रा कार्यक्रम आयोजना गरेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

साथै अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा हिमालय फोटो प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिए । आजै रेवान पोखराको आयोजनामा लेकसाइडमा सडक महोत्सव आयोजना गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस