बाढी पहिरोको घटनाले पूर्वराजा ज्ञानेन्द्रलाई पीडाबोध

  • पोखरा न्यूज
  • २०८१ आश्विन १३
बाढी पहिरोको घटनाले पूर्वराजा ज्ञानेन्द्रलाई पीडाबोध

पाेखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख ब्यक्त गर्दै  नेपालीको  जीवन गुमेको, घाइते हुनु परेको र आफ्नो जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएको बताएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले यो बेला भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रीम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यति ठूलो मानवीय र भौतिक क्षति हुनु निकै नै दुःखद् कुरा भएको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भूक्षयको जोखिम हरेक वर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिनसके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ ।’

उनले दशैँ, तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्व निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक सञ्जाल अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएकोप्रति पनि आफ्नो गम्भीर चासो रहेको बताए ।

यो स्थितिमा मृतक परिवारलाई उचित राहत, वेपत्ताको खोजी तथा घाइतेको शीघ्र उपचार हुनु पर्ने भन्दै अस्तब्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यले तदारुक प्रयत्न गर्नुपर्ने  शाहले उल्लेख गरे ।

उनले भने, ‘प्रकृति, परिवेश र प्रवृत्ति अनुरुप हाम्रा विकास प्रकृया अघि बढ्नुपर्दछ । आफ्नो परिवेश माथि खेलवाड हुने बस्ती, ब्यवस्था र विकास गतिविधिले विपत्ति र विनाश मात्रै निम्त्याउँदछ, त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो, शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस्, विनाशको यो बेला प्रयाप्त सहयोग, सुब्यवस्था, निगरानी पुगोस् भन्ने हाम्रो चाहना छ ।’



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस