कांग्रेसले पार्टीको सय दिने अभियान स्थगित, विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने

  • पोखरा न्यूज
  • २०८१ आश्विन १३
कांग्रेसले पार्टीको सय दिने अभियान स्थगित, विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

प्रवक्ता डा. महतले कोजाग्रत पूर्णिमासम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए । साथै कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए ।

उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पीडित जनताको उद्धार र राहत कार्यमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिए ।

महतले निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए ।

उनले ५० लाखमा सहयोग गर्न कांग्रेस सांसदले १५ दिनको तलब उपलब्ध गराउने पनि निर्णय भएको बताए ।

उनले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाको खोजी तीब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको बताए ।

कांग्रेसले पार्टीको भ्रातृ, शुभेच्छुक संघठन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ ।

दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनामा भएको क्षतिको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो चालु गर्नसमेत जोड दिएको छ ।

कांग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टी, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ ।

विषम परिस्थितिमा कालोबजारी र सवारीसाधनमा हुन सक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीररुपमा व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस