पहिरोले ३३ घर पुरिए, ३८ घरमा क्षति, पुल बगाएपछि सिधा यातायात सम्पर्कविच्छेद

  • पोखरा न्यूज
  • २०८१ आश्विन १४
पहिरोले ३३ घर पुरिए, ३८ घरमा क्षति, पुल बगाएपछि सिधा यातायात सम्पर्कविच्छेद

खोटाङ। बाढी र पहिरोले खोटाङमा ३३ घर पुरिएका छन् भने ३८ घरमा क्षति पुगेको छ । दुई जना घाइतेबाहेक अन्य मानवीय क्षति भने भएकाे छैन । करोडौं मूल्य बराबरको क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।

खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन् भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितको उद्धारमा तीन वटै सुरक्षा निकायका टोली परिचालन गरिएकाे उनले बताए ।

बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका १ सय ३५ स्थानीयवासीलाई नजिकैको विद्यालय तथा आफन्तकामा राखिएको छ ।

प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ उपस्थित भएर आइतबार जिल्ला विपद् व्यवस्थापन समिति बैठक बसेको थियाे । बैठकमा

बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काका अनुसार बाढी तथा पहिरोले एउटा पक्की बगाउनाका साथै पाँच वटा झोलुङ्गे पुलमा क्षति गरेको छ ।

उद्धारमा खटिएका प्रहरी अझै फिल्डमै छन् । जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण नभएकाे भन्दै डीएसपी खड्काले अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र ७९ लाख ९९ हजार बढीको क्षति भएको जानकारी प्राप्त भएको बताए ।

बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ ।

खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐंसेलुखर्क-४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा -१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा-४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ ।

फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुल पनि शनिबार दिउँसोको बाढीले बगाएको छ । फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको डीएसपी खड्काले जानकारी दिए ।

उनका अनुसार खोटेहाङ-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई-५ आँपटार जोड्ने पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस