गगनगौँडास्थित पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

  • पोखरा न्यूज
  • २०८१ आश्विन १४
गगनगौँडास्थित पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

पोखरा । पोखरा महानगरपालिका वडा नं ३० गगनगौँडा गढीस्थित पशुपतिनाथ मन्दिर परिसरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ ।

शुक्लागण्डकी नदीको किनारस्थित पोखरा-३०, ३२ र ३३ को संगमस्थल बनेको मन्दिरलाई धार्मिक आस्था र विश्वासको गन्तव्यका रुपमा विकास गर्ने पशुपतिनाथ मन्दिर संरक्षण समितिको दीर्घकालीन लक्ष्य रहेको समिति अध्यक्ष राजु खत्रीले जानकारी दिए ।

उक्त मन्दिर धार्मिक एवं सामाजिक व्यक्तित्व सीता थापाको पहलमा २०७२ साल मंसिर २४ गते समाजसेवी तीर्थ जंगलीले शिलान्यास गरेका थिए । त्यसयता विभिन्न संघसंस्था एवं सहयोग दाताको सहयोगमा वर्तमान अवस्थासम्म ल्याइएको अध्यक्ष खत्रीले बताए ।

तत्कालीन समयमा कृष्ण केसीले समितिको अध्यक्षता गरेका थिए भने २०७९ असोज १ गतेदेखि आफ्नो नेतृत्वमा वर्तमान कार्यसमिति यहाँको प्रवर्द्धन र विकासमा लागिरहेको उनले बताए ।

मन्दिरमा परिसरमा हाल मूल पशुपतिनाथ मन्दिरसँगै सूर्यनारायण, लक्ष्मीनारायण, गणेश र दुर्गा मन्दिरसँगै हवन कुण्ड रहेको बताउँदै उनले मन्दिरमा रहेका सबै मूर्ती ढुङ्गाले कुँदिएको जानकारी दिए ।

मन्दिरको नियमित पूजा सञ्चालनमा लागि पुजारी पं हिमाल बराललाई आवसीयरुपमा राखिएको भन्दै उनले प्रत्येक दिन बिहान रुद्री पारायणसहित नियमित पूजाआजा हुने गरेको जानकारी दिए ।

मन्दिरमा सोह्रश्राद्ध सुरु भएयता श्राद्ध गर्न चाहनेका लागि आवश्यक व्यवस्थासँगै यही असोज १७ गते घटस्थापनाका दिन साँझ ४.३० बजे महाआरती गर्ने कार्यक्रम तय गरिएको छ ।

घटस्थापनादेखि असोज २५ गतेसम्म नवदुर्गा भवानीको पूजासँगै चण्डीपाठको आयोजना गरिएको उनले जानकारी दिए ।

उनका अनुसार समितिकै सक्रितामा असोज २७ देखि कात्तिक २७ गतेसम्म हरिबोधनी एकादशीका दिन फूलतार्ने प्रयोजनका लागि गंगा केसी कर्ताकारुपमा रहेकी छन् ।

समितिका वरिष्ठ उपाध्यक्ष तीर्थ जंगलीले शिवशक्ति समूहको सक्रियतामा तत्कालीन समयमा सीता थापामार्फत कृष्ण केसी लगायतका व्यक्तित्वहरूको पहल पश्चात मन्दिरका लागि जग्गा उपलब्ध गराइएको जानकारी दिए ।

मन्दिरलाई नजिकै रहेको सतीघाटसँग जोड्ने लक्ष्य रहेको उनले जानकारी गराए । मन्दिर परिसरमा पाँच रोपनी जग्गा रहेको भन्दै उनले यसलाई यस क्षेत्रको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको स्पष्ट पारे ।

समिति अध्यक्ष राजु खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमबहादुर थापाले गरेका थिए ।

उक्त अवसरमा उपाध्यक्ष मेघनाथ आचार्य, सल्लाहकार इश्वरीप्रसाद पौडेल, कोषाध्यक्ष विन्धेश्वरी शाही, लेखनाथ पत्रकार मञ्च अध्यक्ष कविराज खनाललगायतले धार्मिक आस्था र विश्वासको केन्द्रका रुपमा मन्दिरको प्रवर्द्धन र विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस