नेपालको हवाई उडानमा नयाँ रेकर्ड : एकैदिनमा पाँच सय ५९ उडान

  • पोखरा न्यूज
  • २०८१ आश्विन १५
नेपालको हवाई उडानमा नयाँ रेकर्ड : एकैदिनमा पाँच सय ५९ उडान

|तस्बिर-सुमन ढुंगाना

पाेखरा । यतिबेला नेपालकाे हवाई यात्रीको चाप बढेको छ । अबिरल बर्षासँगै बाढी पहराेले देशभरका सडकमार्ग अवरुद्ध भएपछि हवाइ क्षेत्रमा चाप बढेकाे हाे ।

याेसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको  नयाँ रेकर्ड कायम भएको छ । विमानस्थलबाट आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी सोमबार एकै दिनमा पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाका अनुसार एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको हो ।

एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ । यसअघि अघिल्लो वर्ष दसैँका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए ।

अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए ।

मंगलबारका लागि आन्तरिकतर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताए ।

अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले बताए । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् ।

वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुले पनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो ।

एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ ।

आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस