कास्की प्रहरी र मातहतका वडा तथा इलाका प्रहरीबीच कार्यसम्पादन सम्झौता

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
कास्की प्रहरी र मातहतका वडा तथा इलाका प्रहरीबीच कार्यसम्पादन सम्झौता

पोखरा । कास्की प्रहरी र मातहतका वडा प्रहरी कार्यालय बीच आज वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हालैमात्र कास्कीको नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, वडा प्रहरी कार्यालय बैदाम, इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय रामबजार र वडा प्रहरी कार्यालय बगरका प्रमुख बीच सम्झौता भएको हो ।

कास्की प्रहरीबाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अनुसार सम्पादन गर्नुपर्ने जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, फैसला कार्यान्वयन, विपद् व्यवस्थापनलगायत विभिन्न काम कारवाही, प्रहरी गतिविधिअनुसार मातहत प्रहरी कार्यालयसँग समेत कार्ययोजना तयार गरी सम्झौता गरिएको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।

सोही अवसरमा एसपी ओलिया कास्की प्रहरीअन्तर्गतका विभिन्न कार्यालय प्रमुखको उपस्थितिमा जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापनका साथै चाडपर्वको सुरक्षा व्यवस्थाको विषयमा अन्तरक्रिया समेत भएको थियो ।

एसपी ओलियाले प्रहरीको गरिमा र शाख गिर्ने गरी कुनै पनि गतिविधि नगर्न र त्यस्तो गरेको पाइए कडा कदम चालिने चेतावनी दिए । उनले नागरिकको शान्ति र सुरक्षा अमनचयनमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस