पोखरामा अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शन

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
पोखरामा अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शन

पोखरा । अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र बाराही सिनेमा हल पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनपश्चात् चलचित्र समीक्षा र मातृसत्तात्मक परम्परामा अन्तर्दृष्टिका बारेमा छलफल भएको थियो ।

वृत्तचित्रमा निर्माता सुनिलबाबु पन्तले नेपालको समृद्ध आध्यात्मिक र सांस्कृतिक तानाबानाको अन्वेषण गर्ने, लैङ्गिकता, योनिकता, आध्यात्मिकता र इतिहासको गहिरो मातृसत्तात्मक कथाको खोजी गरिएको बताए ।

निर्माता सुनिलबाबु पन्तले भने, मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो, यौन हिंसा हुँदैनथ्यो, महिलालाई देवीको रूपमा पुजिन्थ्यो ।’
काठमाडौँका मन्दिरमा कुँदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्रमा रहेको बताए ।

वृत्तचित्रमा अजिमाका मन्दिरहे वर्णन गरिएको छ । इन्द्र स्वर्गबाट फूल टिप्न आएको कथन, मल्ल राजाको पालामा सुरु भएको इन्द्रजात्रामा रथ तान्नेदेखि लिङ्गो ठड्याउने परम्परासँगै कुमारी जस्तै भैरव र गणेश राख्ने चलनलाई वृत्तचित्रमा देखाइएको छ ।

निर्माता पन्तले मछिन्द्रनाथको मूर्ति ‘न महिला न पुरुष’ देखिने तन्त्र परम्परामा ठूलो सानो हुँदैन, तल्लो माथिल्लो भनिँदैन, सबैको अस्तित्व छ, यही अस्तित्वलाई वृत्तचित्रमा प्रस्ट पार्ने कोसिस गरेका छन् । लाखे नाँच, डाकिनीबारे पनि वृत्तचित्रमा देखाइएको छ ।

धेरैको नजरमा नपरेको मन्दिरका टुँडालमा कुँदिएका ६ थरीका पहिचान भएका व्यक्तिको यौन सम्बन्धबारे निर्माता पन्तले बुझाउने प्रयास गरेका छन् । वृत्तचित्रमा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगीको पहिचानबारे खुलाइएको छ ।

असनको गणेश मन्दिरमा छोरा जन्मेको महिला स्वभावको, छोरी जन्मेको पुरुष स्वभावको मात्रै होइन दुवै यौनाङ्ग लिएर जन्मेका व्यक्तिको स्वरूपलाई पनि पन्तले वृत्तचित्रमा प्रस्ट्याएका छन् ।

वृत्तचित्र काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवी, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्य बीचको जटिल सम्बन्धमा केन्द्रित छ ।

वृत्तचित्रले विविध लिङ्ग र कामुकताको अन्वेषण गर्दछ र सांस्कृतिक सम्पदा र आधुनिक लैङ्गिक मुद्दामा गहिरो प्रतिबिम्ब प्रस्तुत गर्दछ ।

पन्तले वृत्तचित्रमा काठमाडौँ सहरलाई मातृसत्तात्मक परिप्रेक्ष्यमा देखाउँदै नारी योनीलाई महत्व दिने मन्दिरलाई प्रकाश पार्दै यो वृत्तचित्र लैङ्गिकता अध्ययनमा रुचि राख्ने विद्यार्थीका लागि बहुमूल्य स्रोत भएको बताए ।

पन्तले संविधान सभाका सदस्य र महिला अधिकारकर्मीले यो वृत्तचित्र हरेक व्यक्तिलाई देखाउन सुझाव दिएको बताउँदै नयाँ बहसका लागि वृत्तचित्र नयाँ खुराक हुने जनाए ।

अधिकारकर्मीले अहिलेसम्म भ्रम स्थापित भएको भन्दै उनीहरूले यौनिकतालाई त्यसबेला कसरी हेरिन्थ्यो भन्ने वृत्तचित्रले उजागर गरेको उल्लेख गरे ।

दर्शकले समाजमा रहेको पितृसत्तात्मक सोच बदल्न वृत्तचित्र सफल हुने र वृत्तचित्र हेरेपछि ‘नेपालमा रहेको मातृसत्ता÷व्यवस्था बुझ्न हेर्नै पर्ने फिल्म’ रहेको बताएका छन् ।

संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशकसमेत रहेका पन्तले संविधानसभामा झण्डा फेर्ने बहससमेत भएको भन्दै नेपालको झण्डा जस्तो अरू कुनै पनि देशको झण्डामा समानता भेट्न नसकिने बताए ।

वृत्तचित्र युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण भएको र सहयोग अष्ट्रेलिएन एम्बेसी नेपाल र मायाको पहिचान नेपालको रहेको पन्तले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस