पाेखरा । कास्कीकाेट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडादशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुन लागेको हो ।
परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताए ।
घटस्थापनाको दिन असोज १७ गते विधिवत् रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कबज हुने धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए।
त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालिका मन्दिरमा परापूर्वकालदेखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् ।
बडादशैंको १० दिनसम्म कोतघरमा पाणा पुजारीसहित राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गरिने भएको हो । तान्त्रिक तथा वैदिक पूजा हुने त्रिपाठीले बताए ।
बडादशैंको फूलपातीमा पोखराको रामघाटबाट लगेको फूलको डोली विधिवत् मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिने प्रचलन छ ।
त्रिपाठीका अनुसार फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेलसमेत प्रदर्शन गरिने कार्यक्रम छ ।
अष्टमीको दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चवली दिने गरिन्छ ।
दशमीमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालीकामा फूलपत्रसहित पूजा विर्सजन हुनेछ । कास्कीकोटमा नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने सचिव त्रिपाठीले बताए ।
कास्कीकोटमा दशैंकाे बेलामा बजाइने नगरा, १७औँ शताब्दीका ढाल तरबारलगायत तोपको समेत प्रदर्शन गरिने मन्दिरका अमाली खिमबहादुर कार्कीले बताए।
यहाँ पूजा र पञ्चबली भाकल गर्नेको दैनिक भिड लाग्छ । गुप्तकालिका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दशैंमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामकरण भएको किंवदन्ती छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution