बर्षा वितण्डा : मृत्यु हुनेको संख्या २३२ पुग्यो, २३ जना अझै बेपत्ता

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
बर्षा वितण्डा : मृत्यु हुनेको संख्या २३२ पुग्यो, २३ जना अझै बेपत्ता

पोखरा । बाढी पहिरोबाट बुधबार साँझसम्म मृत्यु हुनेको सङ्ख्या २ सय ३२ पुगेको जनाएको छ ।

गृह मन्त्रालयमा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ३२ पुगेको, १ सय ६५ जना घाइते भएको र २३ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिए ।

गृह प्रवक्ता तिवारीले खोज र उद्धारको कामलाई निरन्तरता दिइएको र अहिले अन्तिम चरणमा पुगेको बताए ।

यस्तै मन्त्रालयका सह सचिवको नेतृत्वमा बाढी पहिरोबाट बढी प्रभावित विभिन्न आठ जिल्लामा स्थलगत अनुगमन टोली बुधबारदेखि परिचालन गरिएको बताए ।

सहसचिव नेतृत्वको स्थलगत अनुगमन टोली बाढी पहिरोबाट अतिप्रभावित आठ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा परिचालन भएको प्रवक्ता तिवारीले बताए ।

स्थलगत अनुगमन टोलीमा सरोकारवाला अन्य निकायका प्रतिनिधिसमेत सहभागी रहेको गृह मन्त्रालयले जनाएको छ ।

सो अनुगमन टोलीले विपद्बाट प्रभावित घरपरिवारलाई राहत उद्धारका विषयमा प्रदेश, स्थानीय तह र सम्वद्ध पक्षसँग समेत आवश्यक समन्वय र सहजिकरण गरी विपद्पछिको सरकारको भूमिकालाई प्रभावकारी बनाउने गरी काम गर्नेछ ।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरबाट बुधबार थप २९ जना बाढी पहिरो पीडितको उद्धार गरिएको र ललितपुरमा प्रभावित क्षेत्रमा खाद्यान्न तथा आवश्यक सामग्री पठाइएको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा गृह प्रवक्ता ऋषिराम तिवारीले गृहमन्त्रीले बाढी पहिरो प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरी सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको र प्रभावित ठाउँमा राहत तथा उद्धारका काम भइरहेको बताए ।

प्रवक्ता तिवारीले बाढी पहिरोका कारण अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायतका सेवा क्रमशः सुचारु हुँदै गएको र बाँकी काम पनि तीव्र गतिमा गर्न निर्देशन दिइएको पनि बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस