
पोखरा । शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ ।
स्रष्टा समाज पुम्दीभुम्दीको आयोजना एवं लीलावती अध्ययन प्रतिष्ठान, पोखरा-२२ को संयोजनमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय कास्कीका प्रमुख लीलाधर पौडेल, गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्ची, पुतलीबजार प्रज्ञा-प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’लगायतले पुस्तकको लोकार्पण गरे ।
पुस्तकबारे समीक्षा गर्दै प्राडा रामनाथ ओझाले पौराणिक आदर्श नारीहरू अनुसूया, उर्मिला, गान्धारी, दमयन्ती, मन्दोदरी, सकुन्तला, सावित्री, सीता र सुलोचनाका सम्बन्धमा पुस्तकमा चर्चा गरिएको बताए ।
नारीहरूको पतिव्रता चरित्र तथा त्यसबाट प्राप्त गरेको शक्तिलाई कृतिमा प्रस्तुत गरिएको बताउँदै उनले रामायण र महाभारतका पात्रहरूलाई पुस्तकमा प्रस्तुत गरिएको जानकारी दिए ।
वर्तमानमा उत्तरआधुनिकतातर्फ बढिरहेको हाम्रो समाजलाई पुस्तकले पूर्वीय आदर्शमा डोर्याउने काम गरेको उनले बताए ।
गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले प्रतिष्ठान भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा लागेको बताए । साहित्य, कला सङ्गीतका क्षेत्रमा राज्यको सहयोग पुग्नुपर्नेमा उनले जोड दिए ।





