बाँके । बाँकेकाे खजुरा गाउँपालिका-६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ ।
चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिइएको हो ।
“शुक्रबार खजुराको गिजरा सामुदायिक वनको जङ्गलबाट चितुवालाई नियन्त्रणमा लिएका छौँ”, डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकप्रसाद गुप्ताले भने, “चितुवाले समस्यामा पारेको जनगुनासो आइरहेको थियो । वन्यजन्तुबाट हानिनोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिएका हौँ ।”
सोही गाउँपालिका-६ का वीरेन्द्र पुन मगरकी साढे दुई वर्षीया छोरी लक्ष्मी पुन मगर गत भदौ ३० गते बेलुका घरको आँगनबाट एक्कासि हराएकी थिइन् ।
खोजी गर्दा घटनाको दुई दिनपछि नजिक रहेको गिजरा सामुदायिक वन क्षेत्रमा आधा शरीर खाएको अवस्थामा बालिकाको शव फेला परेको थियो ।
उक्त घटना घटेको १८ दिनपछि सोही ठाउँबाट शुक्रबार भाले चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख गुप्ताले बताए ।
खेजीका क्रममा नाबालिकालाई जंगलमा मृत अवस्थामा फेला परेकामा स्थानीयले सोही चितुवाले उनलाई मारेको हुनसक्ने अनुमान गरेका थिए ।
एउटा चितुवा नियन्त्रणमा लिए पनि बच्चा खाने चितुवा यही हो भन्ने यकिन हुन नसकेको डिभिजन वन प्रमुख गुप्ताले बताए ।
“कुन चितुवाले लगेर मार्यो भन्ने पुष्टि हुन सकेको छैन । बच्चाको ‘पोष्टमार्टम रिपोर्ट’ पनि अझै आइपुगेको छैन”, उनले भने, “अनुसन्धानका क्रममा भएको कुरा पुष्टि नहुँदै यकिनका साथ भन्न सक्दैनौँ ।”
उक्त चितुवा नियन्त्रण गर्न कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा क्यामेरासमेत जडान गरेको थियो ।
चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीलाई नौ दिनसम्म गिजरा वन क्षेत्रमा परिचालन गरिएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution