पोखराको सर्वेश्वर-पराजुली मार्गमा मिनी मेला शुरु

  • पोखरा न्यूज
  • २०८१ आश्विन २०
पोखराको सर्वेश्वर-पराजुली मार्गमा मिनी मेला शुरु

पोखरा । पोखराको सर्वेश्वर-पराजुली मार्गमा चाडपर्व लक्षित मिनी मेला आयोजना गरिएको छ । बडादशैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा मेला शुरु भएको हो ।

सर्वेश्वर व्यवसायी समितिद्वारा आयोजित मेला असोज १७ देखि शुरु भएको हो । मेला चाडपर्वभरी जारी रहने अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । मेला हरेक दिन साँझ ५ देखि शुरु भई राति ८ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा व्यवसायीले सामान आफ्नो पसल अगाडि राखेर सजाउने छन् तर अन्य व्यवसायीलाई असर नपर्नेगरी सामान राखिने अध्यक्ष थापाको भनाइ छ ।

मेलाको अवसरमा सर्वेश्वर मार्ग र पराजुली मार्ग भित्रका जुनसुकै पसलमा भारी छुटका साथ सामान बिक्री गरिने समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए । ‘ग्राहकले सामान सस्तो पाओस् अनि व्यवसायीले स्टक सामान कटाओस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो’, उनले भने ।

दशैँ उत्सवमा किनमेल गर्ने ग्राहकका लागि बम्पर उपहार योजना सञ्चालन गरिएको छ । बजारमा सामान खरिदमा कुपन दिइने गरिएको छ । चाडपर्व सकिएपश्चात् चिट्ठा खोलिने योजना रहेको अध्यक्ष थापाले बताए ।

बम्पर उपहारमा स्कुटर, साइकल, ल्यापटप, मोबाइल र चार जनालाई ५/५ हजार नगद सान्त्वना स्वरूप दिइने जनाइएको छ ।

सर्वेश्वर र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण सामान, काँचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा पाईन्छ ।

होलसेल तथा खुद्रा दुवै व्यापार हुने बजारमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वीरुकुम र रुकुम पश्चिमसम्मका व्यापारी आउने गरेको वरिष्ठ उपाध्यक्ष छविलाल गौतमले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस