पोखरा । क्षेत्री समाज नेपाल पोखरा-१६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रासहित विधिपूर्वक महाआरती गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित ऐतिहासिक चण्डिका, कालिका र अम्बिका मन्दिरमा सो कार्यक्रम हुने भएको हो ।
क्षेत्री समाजका अनुसार असोज २४ गते फूलपातीका दिन बिहान कलश यात्रासहित शुभकामना आदानप्रदान, चियापान र साँझमा महाआरती गरिनेछ ।
विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डिका मन्दिरबाट सुरु भई, गणेश मन्दिर, अम्बिका मन्दिर, राजपँधेरा हुँदै कालिका मन्दिरमा पुगेर कार्यक्रमा परिणत हुने समाजका निवर्तमान अध्यक्ष सन्दिप थापाले जानकारी दिए ।
उनका अनुुसार कलश यात्रामा तमु, मगर, तामाङ, गन्धर्व, विश्वकर्मासहित विभिन्न आठ समुदायले आआफ्नो भेषभुषासहित सहभागी हुने र यात्रामा नौमती बाजा र भजन चुड्का प्रस्तुत गरिने छ ।
सप्तमीका दिन चण्डिका मन्दिर, अष्टमीका दिन कालिका मन्दिरमा महाआरती हुनेछ । सो अवसरमा विभिन्न समुदाय, आमा समूह तथा टोल विकास संस्थाले सहयोग गर्ने सचिव गोविन्दबहादुर थापा राजेन्द्रले बताए ।
क्षेत्री समाजका सल्लाहकार बेनीबहादुर बस्नेतले पोखरा-१६ लाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सल्लाहकार दुर्गा केसी थापा, समाजका सदस्य दिलबहादुर थापा, क्षेत्री महिला समाजकी उपाध्यक्ष मनु बस्नेतलगायतले बाटुलेचौरलाई त्रिदेवी तीर्थस्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
यसअघि हिमालय क्लबले घटस्थापनादेखि कालिका मन्दिरमा दुर्गा पूजा तथा सन्ध्याकालीन आरती गरिरहेको थियो ।
समाजका कार्यवाहक अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव थापाले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution