स्याङ्जाको गह्रौंकालिकामा नयाँ मन्दिर उद्घाटन हुँदै

  • पोखरा न्यूज
  • २०८१ आश्विन २१
स्याङ्जाको गह्रौंकालिकामा नयाँ मन्दिर उद्घाटन हुँदै

पोखरा । स्याङ्जाको प्रसिद्ध गह्रौंकालिका मन्दिर परिसरभित्रका हालै निर्माण सम्पन्न भएका मन्दिरको असोज ३० गते उद्घाटन हुने भएको छ । वालिङ नगरपालिका वडा नं ८ स्थित उक्त मन्दिर उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्ने कार्यक्रम छ ।

मन्दिर विक्रम संवत् १५५० मा तत्कालिन राजा दशरथले स्थापना गरेका हुन् । पहिलो पटक विक्रम सम्वत १८४८ मा जिर्णोद्धार गरिएको मन्दिरमा स्वर्ण गजुर र तामाको छानो स्थापना गरिएको छ ।

तत्कालिन राजा वीरेन्द्रले २०५३ मा पुनर्निमाण स्तम्भको अनावरण गरेपछि मन्दिर निक्कै चर्चामा आएको थियो । मन्दिरमा दशैँलगायतका चाडपर्वमा निक्कै भिड लाग्ने गर्दछ ।

विशेषगरी बडादशैँ र चैतेदशैँमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस र परेवाको बलि दिने गरिन्छ । एकादशी, चौथी, औँशी, सोह्रश्राद्धबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ ।

स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ, तनहुँ, बुटवल, पोखरालगायत स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् ।

समुद्र सतहबाट झण्डै एक हजार छ सय मिटरको उचाइमा रहेको यस स्थानबाट मनमोहक हिमशृङ्खलासहित नागबेली आकारमा बगेका कालीगण्डकी र आँधीखोला तथा ती नदीले बनाएका समथर भूभाग देख्न सकिन्छ ।

यहाँबाट स्याङ्जासहित, कास्की, पाल्पा, तनहुँ, नवलपरासी, नवलपुर, पर्वत, गुल्मीलगायतका जिल्लाका भाग सहजै देख्न सकिन्छ । वालिङ बजारबाट झण्डै आठ किलोमिटरको कच्ची सडक हुँदै यहाँ पुग्न सकिने गह्रौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस