छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

  • पोखरा न्यूज
  • २०८१ आश्विन २५
छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

सप्तरी । दशैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका-३ सखडास्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए ।

“धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिने पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्”, अध्यक्ष चौधरीले भने ।

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ ।

यस मन्दिरमा बडा दशैँमा मेलासमेत लाग्ने गरेको मन्दिरको पीठाधीश महानन्द ठाकुरले बताए । उनकाअनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ ।

त्यसैगरी यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ भारदहस्थित कङ्कालिनी मन्दिरसमेतमा आजै नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको छ । विगत दुईवर्षदेखि बडा दशैँको महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको हो ।

कङ्कालिनी मन्दिरमा दशैँको नवमी तिथिका दिन यस मन्दिरमा राँगो बली दिने चलन छ । हालसम्म छ सय २१ वटा राँगो यहाँ बली दिइएको मन्दिर विकास समितिले जनाएको छ । यहाँ पनि अष्टमीको दिनमा ठूलो मेला लागेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस