|pic by thl
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दशैँमा पनि कामलाई निरन्तरता दिएको छ । निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि नरोकिएको आयोजनाले जनाएको छ ।
आयोजनाका तीनवटै ‘प्याकेज’का काम दशैँमा निरन्तर सञ्चालन भइरहेको र हाल २२ चिनियाँ, दुई सय जना नेपाली प्राविधिक तथा कामदारसहितले काम गरिरहेका तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताए ।
भण्डारीले भने “निर्धारित समयमा पूरा गर्न तीनै प्याकेजअन्तर्गतका कामलाई दशैँ बिदामा पनि नरोकी सञ्चालन गरिरहेका छौँ । सिफ्टमा आलोपालो मिलाएर दशैँलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई दशैँ मनाउन बिदा दिइएको छ ।”
आयोजनाका अनुसार प्याकेज-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्स्ट्रक्सन (प्रालि) नेपाल जेभीले काम गरिरहेको छ । यसअन्तर्गत बाँध खन्ने काम पूरा भई क्रङ्क्रिटको काम सुरु गर्न लागिएको छ ।
यसैगरी प्याकेज-२ अन्तर्गत पावरहाउसतर्फ स्टालेसन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका काम भइरहेका हुन् ।
प्याकेज-२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्नगरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरण जडानलगायत काम भइरहेका छन् ।
यसैगरी प्याकेज-३ अन्तर्गत ९४ टावरमध्ये ७९ वटा टावरको फाउण्डेसन निर्माण गरिनुका साथै ६९ वटा टावर ठड्याइसकिएको छ । यहाँ वन क्षेत्रमा पर्ने काम भने नीतिगत निर्णय नहुँदा रोकिएको आयोजनाले जनाएको छ । यसको काम केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । आयोजनाको समग्रमा ६२ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एसियाली विकास बैंक (एडिबि) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution