पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गर्ने गरी पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । उक्त अनुमतिअनुसार नै कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको थियो ।
उनी पार्टी कार्यालय वनस्थलीमा रहेका बेलामा काठमाडौँको प्रहरी टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले रविलाई पक्राउ गरी कास्की पठाइदिन गरेको पत्राचारअनुसार उनलाई पक्राउ गरेर कास्की लगिँदैछ ।
लामिछानेलाई पक्राउ गरेपछि रास्वपाका कार्यकर्ताले अवरोध गरेका थिए भने ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । रास्वपाका कार्यकर्ताले सरकारको विरोध गरेका छन्।
लामिछानेलाई प्रहरीले पक्राउ गरेर लगेपछि रास्वपाका कार्यकर्ताले सडक अवरुद्धसमेत गरेका छन् । पक्राउ पर्नुअघि पत्रकार सम्मेलन गर्दै रवि लामिछानेले सबै चिजको सामना गर्ने बताएका थिए । उनले आफूले कुनै पनि किसिमको अपराध नगरेकोसमेत बताएका थिए ।
उनलाई पक्राउ गर्न शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कास्कीले अनुमति लिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
लामिछानेलाई पक्राउ पुर्जी जारी गर्न आग्रहका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया र डीएसपी बसन्तकुमार शर्माको टोली अदालत पुगेको थियो ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेले गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको सांसद सूर्य थापा संयोजक रहेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।
उक्त प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
जोशी गत असोज ६ गते नै पक्राउ परेर अहिले थुनामा छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरी कास्की लगिएको थियो । जोशीलाई थप अनुसन्धान गर्न भन्दै शुक्रबार मात्रै २० दिनको समय थप भएको छ ।
यता पक्राउ पर्नुअगाडि रवि लामिछानेले सरकार मरेको र आफूहरुलाई जुठो लागेको भनी सामाजिक सञ्जालमा लेखेका थिए । उनले सरकार मरेसँगै आफूहरुलाई जुठो लागेकोसमेत बताएका हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution