रास्वपा सिध्याउने कांग्रेस एमालेको दिवास्वप्न पूरा हुँदैन : उपसभापति अर्याल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले कांग्रेस एमाले रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर हात धोएर लागेको आरोप लगाएका छन् ।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा भएको विरोधसभामा अर्यालले रास्वपा सिध्याउने उनीहरुको दिवास्वप्न पूरा नहुने स्पष्ट पारे ।

Hot Air Balloon Booking
Paragliding Pokhara

उनले भने, ‘रास्वपा त्यति कमजोर छैन्, कसैले सपना देख्दैमा सकिँदैन, हेर्दै जाउ २०८४ मा हामी कहाँ हुन्छौँ, तिमीहरुको पनि हैसियत देखिन्छ ।’

उनले रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएको उद्घोष गरे । आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको उनले आरोप लगाए ।

‘संसदीय छानबिन समितिले समेत लामिछानेले सहकारीको रकम ऋण लिएको भेटेन, दुई तिहाइको दम्भका आधारमा लामिछानेलाई पक्राउ गरेर सरकार मरे पनि न्यायालय मरेको छैन, हामी विश्वस्त छौँ ।’

कांग्रेस महामन्त्री गगन थापाप्रति कटाक्ष गर्दै उनले भने, ‘कसैको राजनीति बचाउनका लागि रवि लामिछानेलाई आहुति दिन खोज्नु पुराना दललाई महँगो पर्छ ।’

सहकारी पीडितको बचत रकम फिर्ता गराउने कुरामा सरकारलाई मतलब नभएकोले भन्दै अर्यालले अब बचत फिर्ता गराउने कुराको नेतृत्व रास्वपाले गर्ने उद्घोष गरे । उनले प्रश्न गरे, ‘संसदीय समितिको प्रतिवेदन आएको तीन महिना भइसकेको छ, सरकारले सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button