पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनपीडितको निःशुल्क उपचारको तयारी

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ४
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनपीडितको निःशुल्क उपचारको तयारी

|फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनपीडितको निःशुल्क उपचार हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तयारीसहित मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरेकोमा मन्त्रीपरिषद्ले स्वीकार गरेको छ । मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएसँगै कानून बनाएर कार्यक्रम लागू हुनेछ ।

सरकारले पोखरासहित कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा नारायणी अस्पताल, बागमतीमा कीर्तिपुर अस्पताल, लुम्बिनीमा भेरी अस्पताल, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा जलन पीडितको उपचारको निःशुल्क व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत भइ स्वीकार गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार मन्त्री पौडेलद्वारा प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रस्तुत प्रस्तावप्रति सरकार सकारात्मक रहेको र जलन पीडितको निःशुल्क उपचारको व्यवस्था गर्नेसम्बन्धी प्रावधान शीघ्र सार्वजनिक हुने उनले बताए ।

मुलुकमा वार्षिक ५७ हजार मानिस जलनबाट प्रभावित हुने गरेका स्वास्थ्य मन्त्रालयको अनुमान छ । जलनको उपचार महँगो भएकाले उपचार नपाएर धेरैले ज्यान गुमाउने गरेका छन् ।

देशमा जलनकोमात्र उपचार गर्ने विशिष्टिकृत अस्पताल छैनन् । यद्यपि काठमाडौँ उपत्यका केही ठूला अस्पतालले ‘बर्न युनिट’ बाट सेवा प्रवाह गर्दै आएका छन् ।

कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले आगो तथा एसिडलगायत पदार्थले पोलेका बिरामीको उपचार गर्दै आएका छन् । देशको सबैभन्दा पुरानो वीर अस्पतालले पनि गत भदौदेखि बर्न युनिट सञ्चालन गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस