पोखराका केशव र लमजुङका विजय प्रेस काउन्सिलको सदस्यमा नियुक्त

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १०
पोखराका केशव र लमजुङका विजय प्रेस काउन्सिलको सदस्यमा नियुक्त

पोखरा । प्रेस काउन्सिल नेपालको सदस्यमा पोखराका केशवशरण लामिछाने र लमजुङका विजयराज अधिकारी नियुक्त भएका छन् ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले शुक्रबार मन्त्री स्तरीय निर्णयबाट लामिछाने र अधिकारीलाई प्रेस काउन्सिल सदस्यमा नियुक्त गरेका हुन् । काउन्सिलमा हाल बालकृष्ण बस्नेत अध्यक्ष छन् ।

लामिछाने पोखरा र काठमाडौँमा रहेर लामो समयदेखि पत्रकारिता र प्राध्यापनमा सक्रिय छन् ।

उनी हाल पोखराको समाधान दैनिक र अन्नपूर्णपोष्ट दैनिकमा आबद्ध छन् ।

पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण सम्वर्द्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै नेपाल सरकार र सञ्चार माध्यमकाबिच पुलको रूपमा कार्य गर्ने जिम्मेवारी काउन्सिलको रहेको छ ।

काउन्सिलले पत्रकार आचारसंहिता उल्लङ्घनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसन्धान गरी आवश्यक कारबाही गर्ने, आचारसंहितासम्बन्धी जागरण अभियान सञ्चालन गर्ने, आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन गर्ने, पत्रकारिताको विकासका लागि सरकारलाई सुझाव दिने काम गर्दै आएको छ ।

छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०१९ को दफा ३० (क) बमोजिम वि.सं. २०२७ असोज ६ गते प्रेस काउन्सिल नेपालको विधिवत् स्थापना भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस