पोखरा । नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष रामप्रसाद अधिकारीले देश बनाउने जिम्मा फेरि कांग्रेसकै काँधमा आएको बताएका छन् ।
नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिले पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टले देश बनाउन सक्दैनन् भन्न्ने कुरा स्पष्ट भइसकेको बताए ।
‘मुलुकका तमाम समस्या समाधानका लागि कांग्रेसले नेतृत्व नगरी नहुने भो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग भयो’, युवा नेता अधिकारीले भने, ‘विगतमा पनि धेरै समय कम्युनिष्टले नै नेतृत्व गरे, २०७९ पछि पनि कम्युनिष्टले नै नेतृत्व गरिरहेका छन्, तर देश अघि बढ्ने छाँटकाँट कतै देखिएन ।’
उनले पार्टीभित्रका केही आन्तरिक समस्यालाई लिएर चिन्तत र विचलित नहुनसमेत आग्रह गरे । उनले भने, ‘पार्टीका समस्या समय परिवेश अनुसार समाधान हुँदै जान्छन्, हामी देशको भविष्य सोचेर काममा र जनताका सेवामा लाग्नुपर्छ ।’
‘धादिङका पार्टी सभापति रामनाथ अधिकारी अहिले दोहोरो जिम्मेवारीमा रहँदा पार्टीका काममा पक्कै समस्या परेका छन्’, नेता अधिकारीले थपे, ‘ती समस्या समाधानमा सभापतिज्यूले चाँडै नै केही न केही कदम चाल्नुहुन्छ भन्ने विश्वास छ ।’
धादिङ कांग्रेसको इतिहासमा पहिलो पटक संघीय मन्त्री प्राप्त गरेको भन्दै नेता अधिकारीले उहाँको कार्यकालमा धादिङको समग्र विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।
समितिले धादिङ र कास्की कांग्रेसीलाई जोड्ने पुलको काम गरेको भन्दै समितिका लागि आवश्यक परेको सहयोग निरन्तर रहने स्पष्ट पारे ।
युवा नेता एवं समितिका संस्थापक सभापति केदार धमलाले कांग्रेसको महत्व जनताले विस्तारै बुझ्न थालेको भन्दै कम्युनिष्टले मुलुकको हितमा काम गर्न नसक्ने जिकिर गरे । समितिले स्थापनाकालदेखि नै रचनात्मक काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि गोरखाकी मीना अधिकारी, चितवन जिल्ला सदस्य लक्ष्मी अधिकारी, कांग्रेस नेतृ पर्वती खनाल, समितिका निवर्तमान सभापति लालप्रसाद पाठक, सल्लाहकार यादुप्रसाद ढकाललगायतले बोलेका थिए ।
समिति सभापति कमलबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपसभापति माधव लम्सालले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव श्याम इटनीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution