|तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित राजमार्गमा खोलाले ल्याएको गेग्रान हटाउँदै । तस्वीरः रासस ।
तनहुँ । पोखरा-मुग्लिन सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।
दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजारखण्डमा नाला निर्माण भइरहेको छ ।
पाण्डेले भने, “केही समय अघि बिजुलीका नयाँ पोल गाडिएको छ भने बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ ।”
पाण्डेकाअनुसार सडकविन्दुबाट १२ दशमलव २५ मा नाला निर्माण हुनेछ भने बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिनेछ।
पाण्डेले भने, “दशैँ बिदा अगाडिदेखि काम सुरु गरिएकामा दशैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ, पोखरा-मुग्लिन सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन ।”
सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइने छन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिरलगायतका संरचना पर्छन् । केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताए ।
पूर्वी खण्डमा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको छ ।
पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् भने दुई ठूला पुल र एक सय तीन वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए ।
व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको छ ।
त्यस्तै पहिरोजन्य समस्याले पनि काममा अवरोध पुगेको थियो ।
त्यस वर्षका लागि आयोजनाका लागि पुँजीगततर्फ रु दुई अर्ब ९९ करोड बजेट विनियोजन भएकामा रु दुई अर्ब १४ करोड खर्च भएको जनाइएको छ ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution