पोखरामा प्लाष्टिकजन्य माला र फूल गुच्छा विक्री वितरणमा कमी

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १४
पोखरामा प्लाष्टिकजन्य माला र फूल गुच्छा विक्री वितरणमा कमी

|फाइल तस्बिर

पोखरा । पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले प्लाष्टिकजन्य फूलका माला र फूलका गुच्छा बिक्री गर्ने आठ पसलमा अनुगमन गरेको हो । पोखरामा प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन आयात, विक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध छ ।

विसं २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात र विक्री वितरणमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरले विगत तीन वर्षदेखि पोखरामा प्लाष्टिकजन्य फूल गुच्छा, माला विक्री वितरणमा रोक लगाएको छ ।

महानगरले प्रतिबन्धित प्लाष्टिकजन्य सामग्री विक्री गर्ने पसलमा अनुगमन गरेको हो । तिहारमा प्लाष्टिकका फूल र माला बढी आयात हुने र विक्री वितरण हुने भएकाले अनुगमन गरिएको पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समिति सदस्यसचिव अनिल कार्कीले जानकारी दिए ।

पोखरा-९ स्थित रहेको पुष्पराज फ्लावर एण्ड ब्याडिङ्ग शप, सृष्टी फ्लावर, गढीमाई टेण्ट हाउस, पोखरा-४ स्थित एनएस फोटो फ्रेम एण्ड गिफ्ट कलेक्सन, गणेश पूजा सामग्री भण्डार, महाकाली पूजा सामग्री भण्डार र पोखरा-८ स्थित एभरग्रीन फ्लावर शपमा अनुगमन गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।

अनुुगमनका क्रममा आठ पसलबाट ३० हजार मूल्य बराबरको प्लाष्टिकजन्य फूलका गुच्छा र माला जफथ गरिएको छ भने सञ्चालकलाई एक साताभित्र पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।

प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा गरिएको अनुगमन प्रभावकारी देखिएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

उनले लगातार तेस्रो वर्ष पनि अनुगमन गर्दा विगतमा जस्तो प्लाष्टिका फूल र माला कम भएको भन्दै अनुगमन प्रभावकारी देखिएको बताए ।

उनले नेपाल सरकारले प्रतिबन्ध लगाएपछि पोखरामा पूर्णरुपमा रोक लगाइएको र अनुगमनले व्यवसायी पनि सचेत भएकाले प्लाष्टिकजन्य पुष्प गुच्छा र माला आयातमा कमी आएको बताए ।

वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

महानगरले गत वर्ष एक लाख नौ हजार नौ सय १० रुपैयाँ बराबरको फूलका माला जफत गरेको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस