पोखरा । यमपञ्चकको तेस्रो दिन बिहीबार इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खान दिएमा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेकाले कुकुरको पूजा गरी मिठो खान दिने परम्परा छ ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा स्थापित भएको छ ।
तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि बिहीबार परेकाले साँझ दीपावली गरी लक्ष्मी पूजाको गरिएको छ ।
हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार यस वर्ष मङ्गलबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन मङ्गलबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो ।
दोस्रो दिन बुधबार सन्देशवाहकका रुपमा कागको पूजासहित मिठा खानेकुरा खान दिई मनाइएको छ ।
आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । सोही दिनको साँझदेखि यम दीपदान पनि सुरु भएको छ ।
कात्तिककृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ ।
चौथो दिन शुक्रबार यस वर्ष तिहारका कुनै पर्व परेको छैन । पाँचौँ दिन शनिबार गाई पूजा गरिँदै छ ।
यसै दिन गोवर्द्धन पूजा, हलितिहार, बलिपूजा, गोरुपूजा पर्व पनि परेको समितिले जनाएको छ ।
तिथिले पाँचौँ परे पनि दिनअनुसार छैटौँ दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार समापन हुन्छ ।
भाइटीकाको साइत ११ः३७ बजे उत्तम छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने छ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution