मनोबाद!! मनोसम्वाद!!
म आज मध्यरातको १२:५० बजे इजिप्टको राजधानी कायरोबाट एयर इमिरेट्सको फ्लाइटमा दुबई आइपुगेको थिएँ। यो फ्लाइट बिहान ६:१० मा दुबई एयरपोर्टमा ल्यान्ड हुनुपर्नेमा ६:५५ मा मात्र ल्यान्ड भयो। मेरो काठमाडौं जाने जहाज फ्लाई दुबईबाट थियो, जसको उडान समय ८:१५ थियो। जहाजको स्टाट बन्द भइसकेर म बाहिर निस्कँदा ७:०० बजिसकेको थियो। म ब्यूजनेस क्लासको यात्री थिएँ, र मेरो टिकट एडीबीले उपलब्ध गराएको थियो।
बाहिर निस्केर म हतारमा काठमाडौं जाने गेट खोज्न थालेँ, तर त्यो गेट अर्को टर्मिनलमा रहेछ। सुरक्षाको औपचारिकता पूरा गरेर टर्मिनल २ मा बस चढेर जानु पर्ने र कम्तिमा २० मिनेट लाग्ने जानकारी पाएँ, र ट्राफिकको कारणले अझै ढिलाइ हुन सक्ने सम्भावना थियो। ५५ मिनेट भित्र गेटमा पुग्नुपर्ने दबाबले म निकै हतारमा थिएँ। जब म बस चढ्न ठाउँमा पुगेँ, त्यहाँ बस थिएन। इमिरेट्सका दुईजना स्टाफ थिए, तर उनीहरूको व्यवहार असहयोगी र रुखो थियो। उल्टै ढिलो आएकोमा मलाई हप्काइरहे।
कुरा यहाँ सकिएन। जब बस आयो र म टर्मिनल २ पुगेँ, इमिरेट्सको काउन्टरमा गएर समस्या बुझाइ, मलाई गेटसम्म पुर्याउन र फ्लाई दुबईसँग समन्वय गरिदिन अनुरोध गरेँ। तर उनको व्यवहार पनि असहयोगी र रुखो नै रह्यो। सम्भवत: उनी उपल्लो तहका कर्मचारी थिए, तर उनले ढोका बन्द भइसकेको छ भन्दै मलाई पुनः टर्मिनल ३ मा फर्केर इमिरेट्सको काउन्टरमा कुरा गर्न भने, र अर्को टिकट काट्न सुझाव दिए।जब कि उनी स्वयं ईमिरेट्सका कर्मचारी थिए।
मैले निवेदन गरेँ, “म ब्यूजनेस क्लासको यात्री हुँ, मसँग कूटनीतिक राहदानी छ, कनेक्टिङ फ्लाइट ढिलो भएको र यहाँ आउन समय लागेको छ। अझै २० मिनेट बाँकी छ, गेट बन्द नभएको भए चेक गरिदिनुहोस्।” तर उनले मलाई सुनेनन् र मोबाइल हेर्दै “डोर अलरेडी क्लोज, यु क्यान गो टर्मिनल ३” भनेर असंवेदनशील जवाफ दिए।
यस घटनाले मलाई निकै दुःखि र निराश बनायो। म पोखराको मेयरको हैसियतमा वर्ल्ड अर्बन फोरममा भाग लिएर आफ्नै नगरमा भोलि बिहान आयोजित अन्तर्राष्ट्रिय विशेष कार्यक्रममा समयमै पुग्नै पर्ने दबाबमा थिएँ, जसको कारण म फोरमको समापनको एक दिन अगाडि नै हतारमा फर्किरहेको थिएँ। दिउँसो काठमाडौं पुगेर साँझ पोखरा पुग्न र अतिविशिष्ट पाहुनाहरूको लागि महानगरले आयोजना गरेको रिसेप्सनमा उपस्थित हुन आवश्यक थियो। जहाज छुटेपछि “अब अर्को टिकट/एयरलाइन्स खोज्नुहोस्” भन्ने गैरजिम्मेवार जवाफ इमिरेट्सको स्टाफबाट पाउँदा साँचै दुःखी र निराश भएँ।
म नयाँ यात्री होइन, हालसम्म ६० भन्दा बढी देशमा पटक-पटक यात्रा गरिसकेको छु। संसारका विभिन्न ठूला र साना विमानस्थल हुँदै यात्रा गरिसकेको र व्यवस्थापनको विद्यार्थीको नाताले समय व्यवस्थापनको महत्त्व बुझेको छु। तर, इमिरेट्ससँग यो मेरो पहिलो असुविधा पनि थिएन, यसअघि पनि यस्ता पटकपटक असहयोगी व्यवहार भोगिसकेको थिएँ। तर, पहिले भने आजको जस्तो प्लेन छुटेको थिएन।
आज जस्तोसुकै तरिकामा भए पनि छिटो पुग्नु पर्ने बाध्यतामा थिएँ। जहाज डिले भएर कनेक्टिङ फ्लाइट छुटेको अवस्थामा मेरो मनमा केहि बिषय भने खेलिरहे, मनोबादका रुपमा मनमनै केहि कमिटमेण्ट र आशा गरे। जुन यस्ता छन।
१) अब सम्भव भएसम्म इमिरेट्स एयरलाइन्स प्रयोग नगर्ने।
२) फरक-फरक एयरलाइन्सको कनेक्टिङ फ्लाइटबाट टिकट नलिने।
३) कनेक्टिङ फ्लाइटमा कम्तिमा २.५ घण्टाको अन्तर राख्ने।
४) जहाज छुट्दा धेरै दुःख नलिने, किनकि हतार गरेर गन्तव्यमा पुगिने होइन।
५) सम्भव भएसम्म आफ्नै देशको एयरलाइन्स प्रयोग गर्ने, जसले कम्तीमा गुनासो सुन्ने र समाधानको अवसर दिन्छ।
६) हाम्रो देशका एयरलाइन्स स्टाफहरूलाई सहयोगी र यात्रुमैत्री बन्न आग्रह गर्ने।
७) नेपालमा स्थानीय उडानमा पनि बुद्ध एयर जस्तो विमान र एति एयरको जस्तो स्टाफको अपेक्षा गर्ने।
यस्तो कुरा सोचिरहेको अबस्थामा अचानक एउटा सकारात्मक कुरा पनि भयो। जब केही निर्णय नभएको अवस्थामा फ्लाई दुबईको युनिफर्म लगाएकी महिला स्टाफ (उहाँको नाम मौना नाया रहेछ र उहाँ मोरक्कोकी नागरिक हुनुहुँदो रहेछ) देखेर सिसाबाहिरबाट भेट्न आग्रह गरेँ।
मैले उहाँलाई सबै बिस्तार लगाएँ र म ७ मिनेटदेखि त्यहीँ छु भनेँ। उहाँले हतारमा मेरो बोर्डिङ चेक गरिदिनुभयो र जहाज १ मिनेट अघि ढोका बन्द भएको जानकारी दिनुभयो। इमिरेट्सको स्टाफले सुरुमा नै फ्लाई दुबईको यस कक्षमा पठाइदिएको भए म जहाज भेट्न सक्थेँ। ७ मिनेट खेर गयो र अब मेरो स्थिती अन्योलमा रह्यो।
केही प्रयासपछि फ्लाई दुबईकी मौना नाया जिले अर्को एयरलाइन्समा ब्यूजनेस क्लास उपलब्ध नभएको तर इकोनोमीमा म्यानेज गर्न सकिने जानकारी दिनुभयो। म खुसी हुँदै ठट्टा गरें, “डिक्की वा भुइँमा बसेर जान पाए पनि भयो, मलाई ब्यूजनेस क्लास चाहिँदैन।” उहाँले इमिरेट्सलाई ग्याप फन्डको लागि रिफन्डको निवेदन गर्न भन्नुभयो , तर मैले भने, “अब इमिरेट्ससँग कुनै संवाद गर्ने पक्षमा छैन र क्षतिपूर्तिको कुरा गर्दिनँ।” उहाँले मेरो कुरा सुनेर साँच्चिकै दुःख व्यक्त गर्नुभयो र आफ्नो एयरलाइन्सको तर्फबाट क्षमा माग्नुभयो।
यो घटनाले मसँग केही सिकाइ र उपरोक्त निस्कर्ष दिएको छ। यो केवल मेरो अनुभव र सोचाइ मात्र हो। यसबाट कसैलाई चोट पुगेमा क्षमा चाहन्छु।
(मेयर आचार्यकाे फेसबुकबाट जस्ताकाे तस्तै )