चलचित्र ‘अग्निदहन’ मंसिर ७ देखि प्रदर्शनमा

  • पोखरा न्यूज
  • २०८१ कार्तिक २३
चलचित्र ‘अग्निदहन’ मंसिर ७ देखि प्रदर्शनमा

पोखरा । चलचित्र ‘अग्निदहनको’ प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट प्रदर्शन हुने भएपछि चलचित्रको प्रचारप्रसारमा निर्माण टीम जुटेको हो ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रका विषयमा जानकारी गराइएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको चलचित्र ६ वर्ष अघि छायाँकन गरिएको हो ।

चलचित्रका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफू धादिङ पुग्दा बोक्सीका नाम गरिएको कुकृत्यलाई देखेर सामाजिक चेतना फैलाउन चलचित्र निर्माण गरिएको बताए ।

‘सुरुमा मान्छे बोक्सी हुन्न कहिल्यै किताब प्रकाशन गरिएको थियो, त्यसपछि गीत निर्माण भयो, सकारात्मक प्रतिक्रियपछि चलचित्रको रुप लिएको हो’, उनले भने ।

चलचित्रलाई अभियानकै रुपमा अगाडि बढाई देशका पाँच सय भन्दा बढी ठाउँमा पुगेर प्रदर्शनसमेत गरिएको उपाध्यायले जानकारी गराए । चलचित्र भोजपुरी र मैथिली भाषामा समेत डब भएको छ । अब हिन्दी भाषामा डब हुन लागेको उनले बताए ।

उनले अग्निदहनले कमाएको रकम निर्माताको खल्तीमा नजाने र शिक्षा चेतनाकै माध्यमबाट मात्रै बोक्सी प्रथा उन्मूलन हुने उल्लेख गरे ।

निर्देशक घनश्याम लामिछानेले चलचित्र मनोरञ्जनात्मक चलचित्र नभई सामाजिक चेतना प्रवाह गर्ने भएको बताए । पृथक र स्वच्छ भावनाले काम गरिएकाले हलमा समेत दर्शकको माया पाउनेमा उनी आशावादी छन् । चलचित्र ९० मिनेटको भएको र चलचित्र हेर्दा आफ्नै सामाजिक परिवेशको कथा भेटिने उनको दावी छ ।

कलाकार प्रकाश घिमिरेले समाजलाई सन्देश प्रवाह गर्ने चलचित्र अभिनयका लागि रोजाईमा पर्ने र अग्निदहन सोही चलचित्र भएको बताए । बोक्सी प्रथाविरुद्धको कथामा कलाकारितामार्फत जोडिन पाउँदा खुशी लागेको भनाई उनको छ ।

कलाकार माओत्से गुरुङले चलचित्रमा अन्धविश्वासलाई प्रसय दिने खालको भूमिका आफ्नो रहेको बताए । दशैँ यता नेपाली चलचित्रले हलमा गरेको व्यापार सकारात्मक भएको उल्लेख गर्दै समाज सेवाका लागि बनाइएको चलचित्रलाई समेत दर्शकले माया दिने उनले उल्लेख गरे ।

कलाकार प्रमिला तुलाचन चलचित्रमा बोक्सीका रुपमा प्रस्तुत भएकी छन् । अहिलेसम्म नगरेको पात्रका रुपमा आफूले अभिनय गरेको उनले बताइन् ।

कलाकार तुलसी क्षेत्री लोकदोहोरी क्षेत्रबाट अभिनयमा आएकी हुन् । पहिलो चलचित्र भएकाले पनि आफ्नो भूमिकाले दर्शकको मन छुनेमा उनी आशावादी छन् ।

लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, बिष्णु वास्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, प्रश्ना आचार्य, माधवशरण पौडेललगायतको अभिनय छ । चलचित्रका संरक्षक मोहनराज पौडेल हुन् । चलचित्रको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस