पूर्वडीआइजी जोशीलाई पोखराबाट काठमाडौं लगियो

  • पोखरा न्यूज
  • २०८१ मंसिर ४
पूर्वडीआइजी जोशीलाई पोखराबाट काठमाडौं लगियो

पोखरा । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई मंगलबार साँझ कास्कीबाट काठमाडौँ लगिएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत असोज ६ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका जोशीलाई काठामडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएकाले बयानका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबार साँझ विमानमार्फत काठमाडौं लगिएको हो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा लगिएको छ । जोशीसँग सरकारी वकिलको कार्यालयमा बुधबारबाट बयान लिने तयारी प्रहरीको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व डीआइजी जोशीसहितलाई पक्राउ पूर्जी जारी भएको छ ।

यसअघि कुमार रम्तेललाई पनि काठमाडौँ पुर्याएरएर बयान लिइएको थियो । रम्तेललाई बयान सकेर मंगलबार पोखरा नै फर्काइएको छ ।

जोशीको पनि बयान सकेर पोखरा नै फर्काइनेछ । त्यसपछि लामिछानेलाई काठमाडौँ लैजाने तयारी प्रहरीको छ ।

लामिछाने र जोशीलाई सुप्रिम सहकारी ठगी आरोपमा यसअघि रुपन्देही पुर्याएर बयान लिइएको थियो ।

सहकारीका बचतकर्ताले जाहेरी दिएपछि प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु भएको हो । स्वर्णलक्ष्मीबाट एक अर्ब ११ करोड रकम अपचलन भएको अनुमान गरिएकाे छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस