नेपालले जित्यो एकदिवसीय सिरिज

पोखरा । नेपाली यू-१९ टोलीले भारतको कर्नाटक यू-१९ टोलीविरूद्धको पाँच खेलको एकदिवसीय सिरिज जितेको छ । निर्णायक तथा पाँचौ खेलमा जित निकालेसँगै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

आज त्रिवि मैदानमा भएको पाँचौ खेलमा नेपालले सात विकेटको जित हासिल गरेको हो । यसअघि पहिलो र चौथो खेल कर्नाटकले जित्दा नेपालले दोस्रो र तेस्रो खेल जितेको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रतियोगिताअन्तर्गत सुरूवाती चार खेल मूलपानी र आज भएको खेल त्रिवि मैदानमा भएको थियो । आजको खेलमा कर्नाटकले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ३९दशमलव५ ओभरमै पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आकाश त्रिपाठीले नटआउट ८९ रन र नरेन भट्टले नटआउट १८ रन जोडे । आकाशले १०५ बल खेल्दा ७ चौका र १ छक्का हिर्काए ।

त्यसअघि मयन यादवले पनि नेपालका लागि अर्धशतक प्रहार गरेका थिए । मयनले ५० रन बनाउन ६६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । सन्तोष यादव ४ रन र अर्जुन कुमाल २१ रनमा आउट भएका थिए। बलिङमा कर्नाटकका प्रनवले २ विकेट लिए ।

यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्नाटक ५० ओभरमा १ सय ९१ रनमा अलआउट भएको थियो । कर्नाटक का लागि कप्तान रोहितले सबैभन्दा बढी ४१ रन जोडे ।

बलिङमा नेपालका कप्तान हेमन्त धामीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दा ३४ रन दिए । अभिषेक तिवारी, नरेन साउद र युवराज खत्रीले २-२ विकेट लिए ।

यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ । एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने छ । एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन् ।

एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।

नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन छन् । नेपाली टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अली र रन्जित कुमार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button