रवि र छविलाई चितवनमा पनि पक्राउ पुर्जी, रविलाई काठमाडौँ लैजाने तयारी

  • पोखरा न्यूज
  • २०८१ मंसिर ७
रवि र छविलाई चितवनमा पनि पक्राउ पुर्जी, रविलाई काठमाडौँ लैजाने तयारी

पाेखरा। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चौथो जिल्लामा पक्राउ पुर्जी जारी भएको छ ।

गत असोज ६ गतेदेखि प्रहरीको हिरासतमा रहेका छवि र कार्तिक २ गतेदेखि हिरासतमा रहेका रविविरुद्ध चौथो जिल्ला चितवनमा पनि पक्राउ पुर्जी जारी भएको हो ।

शुक्रबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रवि र छविसहित  १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा बचतकर्ताले रवि र छविसहित १० जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।

साहाराबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार एक सय ५१ लाख रुपैयाँ गएको देखिएको छ।

यसअघि असोज ८ गते सहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ।

यसअघि कास्की, रुपन्देही र काठमाडौँमा पक्राउ पुर्जी जारी भएको थियाे । रवि र छवि दुवै जना कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । शुरुआतमा पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनीहरु पक्राउ परेका थिए ।

दुवैले रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान दिएका थिए । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा बयान लिन उनीहरुलाई रुपन्देही पुर्याइएको थियो ।

त्यस्तै छविले काठमाडौँमा बयान दिएका छन् । उनलाई शुक्रबार काठमाडौँबाट बयान लिएर कास्की फर्काइएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन काठमाडौँ लगिएका छविको बयान सकिएपछि पाेखरा फर्काइएको हो ।

छविलाई गत मंगलबार कास्कीबाट काठमाडौँ लगिएको थियो । अब रविलाई काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । छविलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबार र बिहीबार बयान लिएको थियो ।

बयान सकिएसँगै उनलाई शुक्रबार पोखरा फिर्ता पठाइएको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीले पोखराबाट अब रविलाई झिकाउने तयारी गरेको छ । उनलाई शनिबार नै काठमाडौँँ लगिने प्रहरी स्रोतले बताएको छ ।

रवि र छविसमेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् । सहकारी ठगीका मुख्य आरोपी ग्यालेक्सीका सञ्चालक गितेन्द्र राई (जीबी) भने अझै फरार छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस