कास्कीको लान्द्रुकमा ‘हनि हन्टिङ’ महोत्सव

  • पोखरा न्यूज
  • २०८१ मंसिर १०
कास्कीको लान्द्रुकमा ‘हनि हन्टिङ’ महोत्सव

पोखरा । कास्कीमा यस वर्ष पनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ) महोत्सव हुने भएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं ७ लान्द्रुकस्थित महभिरमा यही मङ्सिर २२ देखि २४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको तयारी तीव्र बनाइएको छ ।

एक सय वर्ष अघिदेखि परम्परागत रुपमा मह काढ्दै आइए पनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सवकै रुपमा अघि बढाउन थालिएको हो ।

लान्द्रुक पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । लान्द्रुकस्थित मोदी खोलाको किनारस्थित कोटेसाङ भिरमा मौरीका घार छन् ।

भिरमा जोखिम मोलेर भिरौटेले काढेर ल्याएको प्राकृतिक मह स्वास्थ्यवर्द्धक समेत मानिने महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङको भनाइ छ ।

महोत्सवमा हनि हन्टिङको ऐतिहासिक र सांस्कृतिक महत्वको बारेमा जानकारी गराउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरिने उनले बताए ।

महभिरमा गएर मह काढ्ने, मह निकाल्ने र प्रदर्शन तथा बिक्री वितरणले गाउँको पर्यटन विकास हुने उनको अपेक्षा छ ।

कोटेसाङ भिरमा ६० मौरी घार छन् । भिरमौरीको मह प्रतिलिटर रु तीन हजारमा बिक्री हुने गरेकाले स्थानीयको आम्दानी पनि राम्रो हुने अध्यक्ष गुरुङले बताए ।

मह काढेको अवलोकनका लागि आएका विदेशी पर्यटक भिर मह काढेको देखेर खुसी हुने र पर्यटकको बसाइँसमेत लम्बिएको स्थानीको भनाइ छ ।

लान्द्रुक मर्दी हिमाल आधार शिविर र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार हो । यहाँबाट पुन हिलसमेत जान सकिन्छ ।

पर्यटकीयस्थलमा आयोजना हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षणसँगै पर्यटन विकासमा मद्दत पुग्ने विश्वास गरिएको वडाध्यक्ष भरतमान गुरुङले बताए ।

महोत्सवका अवसरमा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।

भलिबलको विजेताले रु ७० हजार, द्वितीयले रु ४० हजार र तृतीयले नगद रु २० हजार पुरस्कार प्राप्त गर्ने खेल संयोजक महादेव गुरुङले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस