
पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट सेवा निवृत्त भएका अध्यापक तथा प्राध्यापकका अनुभव-अनुभूति एकै ठाउँमा पढ्न पाइने भएको छ ।
यो सबै कुराको जाँचोपाँजो निवृत्त प्राध्यापक समाज पोखराले मिलाएको हो । समाजले सोमबार एक समारोहका बीच निवृत्त प्राध्यापक मञ्चः संक्षिप्त जीवनी एक लोकार्पण गरेको छ ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले शिक्षामा सुधार आवश्यक भएकाले सरकारले अनुभव प्राप्त प्राध्यापकसँग सहकार्य गरेर समस्याको निर्क्याैल गर्न सकेमा राम्रो हुने धारणा राखे ।
साथै उनले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि निवृत्त प्राध्यापकलाई जाग्नका लागि पनि अनुरोध गरे ।
गुरु जोर्ज जोनले सबै मिलेर संस्था अगाडि बढ्ने भएकाले संस्थालाई सोही तरिकाले अगाडि बढाउन सुझाउँदै प्राध्यापकका अनुभव पुस्तकमा पाउनु खुसीको कुरा भएको बताए ।
पुस्तकको समीक्षा गर्दै प्राडा जगन्नाथ रेग्मीले किताबलाई बहुरंगी बगैँचाका अनेक पूmलकारूपमा चित्रित गरे । उनले कृतिलाई समाजका प्रतिनिधि घटनाको दस्तावेज समावेश भएको छायाचित्रका पनि रूपमा चिनाए ।
पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले सेवा निवृत्त प्राध्यापकले भोलि सबै निवृत्त साथी भेला हुने मञ्च बनाएकोमा आभार व्यक्त गरे ।
उनलेवर्तमान पुस्तालाई यस्ता पुस्तकले नयाँ ज्ञान आर्जन हुने बताउँदै क्याम्पस सदा अग्रजको सम्मानमा लाग्दै आएको धारणा व्यक्त गरे ।्
प्राडा यादव शर्मा गौडेलले धेरैका अनुभव, सुझाव र सल्लाहमात्र नभएर अथाह ज्ञानबाट निस्केको ज्योतिकारूपमा कृतिलाई चिनाउँदै कृतिले प्राध्यापकको गौरवलाई अझ गौरवपूर्ण तुल्याउने बताए ।
आवरण कलाका कलाकार रमेश श्रेष्ठले पुस्तकका कारण अग्रज गुरुहरूसँग भेट हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको धारणा राखे ।
सम्पादन समितिका प्रा.डा. कृष्णप्रसाद पौडेलले समाजले जर्नल प्रकाशन गर्ने योजना बनाएकोमा जीवनी प्रकाशित गर्दा उपयुक्त हुने देखिएकाले २०८० भदौ २३ गतेदेखि निरन्तरको प्रयासले किताब यो रूपमा पाठकका हातमा आइपुगेको जानकारी दिए ।
समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले कृति प्रकाशन सन्दर्भबारे प्रकाश पार्दै संस्थामा आवद्ध पदाधिकारीको स्वास्थ्य अवस्था, मन र धनले साथ दिँदासम्म सेवाका गतिविधिमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा समाजका उपाध्यक्ष प्राध्यापक पद्मशरण रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव प्राडा ज्ञानबहादुर कार्कीले गरेका थिए ।





