पाेखरा। सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौँ लगिँदैछ ।
काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि अदालतबाट पक्राउ अनुमति जारी भएको थियाे । योसँगै उनलाई बयानका लागि काठमाडौँ लैजान लागिएको हो ।
उनलाइ मंगलबार काठमाडाैँ लगिने तयारी भए पनि टिकटमा समस्या भएका कारण सम्भव नभएको प्रहरीले जनाएको छ । टिकट मिलेपछि काठमाडौँ लैजाने बताएको प्रहरीले आज साँझसम्म जसरी पनि काठमाडौँ पुर्याउने जनाएको छ ।
प्रहरीका अनुसार उनलाई दुई दिनसम्ममा काठमाडौँमा राखेर बयान लिइने छ । त्यसपछि चितवन लगेर बयान लिइने छ । स्रोतका अनुसार यही बेलामै पर्साबाट पनि पक्राउ पुर्जी जारी भएमा उनलाई चितवनबाट वीरगञ्ज लगेर बयान लिइ पोखरा फिर्ता पठाइने छ ।
यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुछिएका लामिछानेविरुद्ध पुर्जी जारी भएको थियो । त्यसपछि लामिछानेलाई रुपन्देही पुर्याई चार दिनमा २२ घण्टा लगाएर बयान लिइएको थियो । बयानमा उनले इन्कारी जवाफ दिएका छन् ।
सहकारी ठगीमा इन्कारी जवाफ दिइरहेका लामिछानेले विभिन्न सहकारीमा ऋण तिर्न कोटेको चेक फेला परेका समाचार बाहिरिएका छन् । यस विषयमा उनले जवाफ दिन आलटाल गरेको प्रहरी स्रोतले जनाएको छ ।
चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।
कास्की जिल्ला अदाललतले आइतबार हिरासतमा राख्न १५ दिन म्याद थप गरिदिएर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालतले कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएको थियो ।
काठमाडौँमा छविलाल जोशीको भने बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ गते छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution