पोखरा-५ प्रस्याङस्थित शान्ति निकेतन स्कुलमा स्पोर्ट्स मिट

पाेखरा । पोखरा महानगरपालिका वडा नं ५  प्रस्याङस्थित शान्ति निकेतन स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरूङले अध्ययन सँगसँगै खेलकुदमा पनि विद्यार्थीकालबाटै लाग्नुपर्नेमा जोड दिए ।

‘खेल जितका लागि मात्र पनि होइन, सहभागिता नै महत्वपूर्ण छ, अरुमाथि जित्ने भन्दा पनि आफैमा अझै राम्रो गर्न संघर्ष गर्ने, अनुशासित बनाउने, स्वस्थ बनाउने, सहकार्य गर्न सिकाउनु नै खेल हो ।’

उनले भने, ‘खेल्नका लागि अभिभावकले प्रोत्साहन गर्नुहोस् । हामीले वर्षको अन्तमा कति नम्बर ल्यायो ? भन्नेमा मात्र ख्याल गर्ने होइन ।’

उपाध्यक्ष गुरुङले खेलले हारमा पनि आशा जगाउन सिकाउने बताउँदै खेलकुदले जिन्दगीमा आइपर्ने दुःखसुखसँग सामना गर्न सक्ने क्षमताको वृद्धि गर्ने उल्लेख गरे ।

खेलकुदमा जात, धर्म, वर्गमा विभेद नगर्ने भएकाले समान भावनाको विकास गराउने बताए । आफ्नो बच्चालाई अरुसँग तुलना गर्न नहुने सुझाव दिँदै उनले तुलना गर्दा बच्चाले उनीहरुसँग हिनताबोध गरेर झनै आत्मविश्वास गुमाउने बताए ।

स्कुलका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कले राम्रो ज्ञान प्राप्त गर्ने हुँदा विद्यालयले पठनपाठनसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिँदै आएको बताए ।

‘जबसम्म विद्यार्थी मानसिक र शारीरिक रुपमा स्वस्थ हुँदैनन्, उनीहरुको जीवन पनि स्वस्थ हुँदैनन्, शिक्षासँगै खेलकुदको क्षेत्रमा पनि अब्बल बन्न बालबालिका उमेरबाटै यसमा समर्पित रहनुपर्छ, यसैलाई मध्येनजर गर्दै विद्यालयले यस्ता कार्यक्रम नियमित आयोजना गर्दै आएका हौँ’, डा. पराजुलीले भने ।

उनले शान्ति निकेतनकै विद्यार्थी संघर्ष चपाईंले जापानमा जुडो कराँतेतर्फ राष्ट्रको प्रतिनिधित्व गर्दै रजत पदक प्राप्त गरेको, सेलिना गुरुङले ताइवानमा आयोजित तिर हान्ने प्रतियोगितामा पनि रजत प्रदक प्राप्त गरेको स्मरण गर्दै राष्ट्रिय स्तरमा पनि राम्रा राम्रा खेलाडी उत्पादन भएको स्मरण गरे ।

डा. पराजुलीले शान्ति निकेतन उत्कृष्ट नतिजाका कारण परिचित बनेको बताउँदै अतिरिक्त तथा खेलकुद क्षेत्रमा पनि स्कूलका विद्यार्थीले विद्यालयको नाम राख्नेमा आशावादी रहेको बताए ।

विद्यालयका सल्लाहकार सोमनाथ भुर्त्यालले विद्यालयको अभिभावकको पक्षबाट हेर्दा विद्यालयको प्रगतिका कारण आफू निकै खुशी रहेको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले शान्ति निकेतनका विद्यार्थीहरुको उत्कृष्ट नतिजाका कारण विद्यालय व्यवस्थापन टीम, शिक्षक, अभिभावक र विद्यार्थी सबै गौरवान्वित रहेको बताए ।

पत्रकार कमल पौडेल अथकले विद्यार्थीका लागि किताबी ज्ञानसँगै अतिरिक्ति ज्ञान तथा सीपको खाँचो रहने भएकाले खेलकुद, गायन, नृत्य, कलाका माध्यमबाट उनीहरुका अन्तर्निहित क्षमताको प्रस्फुटन गर्न यस्ता कार्यक्रम सहयोगसिद्ध हुने बताए ।

कार्यक्रममा सहप्राचार्य यदुविलास भुर्त्याल, परीक्षा संयोजक हेम सुवेदीलगायतले बोलेका थिए ।

प्रतियोगितामा भलिबल, फूटबल, टेबलटेनिस, चेस, सटपुट लगायतका खेल समावेश गरिएको छ । कुल दुइ सय ९० वटा पदकका लागि प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा सिनियर (कक्षा ६-९), प्राइमरी सिनियर (कक्षा ३-५), प्राइमरी जुनियर (कक्षा १-२), प्रि–प्राइमरी जुनियर (नर्सरी-यूकेजी), प्रि-नर्सरी तहमा प्रतिष्पर्धा गरिएको छ ।

स्पोर्ट्स मिट उद्घाटनका अवसरमा उपस्थित अभिभावकवीच गरिएको रमाइलो चम्चा दौड प्रतियोगितामा विजेता रिकु देवकोटा, दोस्रो स्थान प्राप्त गर्ने सुनिता भण्डारी र तेस्रो स्थान प्राप्त गर्ने दुर्गा सुवेदीलाई पुरस्कृत पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button