रवि लामिछानेलाई काठमाडौँ लगियाे

  • पोखरा न्यूज
  • २०८१ मंसिर १३
रवि लामिछानेलाई काठमाडौँ लगियाे

पाेखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि पोखराबाट काठमाडौँ लगिएको छ ।

लामिछानेलाई बिहीबार साँझ बुद्ध एयरमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। स्वर्णलक्ष्मी सहकारी संस्थासँग सम्बन्धित रकम अपचलन तथा ठगीको मुद्दामा थप प्रमाण र तथ्य जुटाउन लामिछानेसँग शुक्रबारदेखि बयान लिइने प्रहरीकाे तयारी छ ।

उनलाई स्वर्णलक्ष्मी सहकारी संस्था कालिमाटीको रकम ठगीबारे अनुसन्धान गर्न काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइनेछ ।

उनलाई ३/४ दिन बयान गराएर चितवनमा लगिने जनाइएको छ । चितवनको सहारा सहकारीको पनि रकम ठगेको उनीमाथि आरोप छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कालिमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा उनलाई बयान लिन लागिएको हो।

यसअघि उनका गोर्खा मिडियाका साझेदार पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा छ।

पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयं स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६ सय ८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवास् र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।

अहिले सहकारी ठगीबाहेक जीबी राई, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि-छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।

मुख्यतयाः अहिले जीबी, रवि, छविविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जीबी, रवि र छवि जोशी छन् ।

जीबी अहिलेसम्म फरार छन् । रवि कार्तिक २ गते र छवि असोज ६ गतेदेखि प्रहरीको हिरासतमा छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस