पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता’ का निम्ती भावी रणनीति तय गर्न आयोजित छलफलमा सहभागीले कुनै पनि बहानामा अन्तर्राष्ट्रिय उडान गराउने कुरालाई प्रभावित पार्न नहुने बताए ।
सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सङ्घको भावनात्मक सम्बन्ध गाँसिएको भन्दै पोखराबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताका लागि सङ्घले आवश्यक परे दबाबमूलक कार्यक्रमसमेत गर्ने बताए ।
सङ्घको विसं २०४२ मङ्सिर २ गते भएको कार्यसमितिको बैठकबाट पोखरा विश्वविद्यालय एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ती दबाब दिने, पैरवी गर्ने निर्णयसँगै त्यसपछि विभिन्न चरणको लामो सङ्घर्षका जगमा विमानस्थल बनेको उनले स्मरण गरे ।
पछिल्लो समय विमानस्थलका प्राविधिक पक्षलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीको उत्तर खोज्न र अन्तर्राष्ट्रिय उडान सुनिश्चित होस् भन्ने हेतुले नै कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न ढिला भए पनि उडान नै हुँदैन भन्ने अफवाहलाई चिर्नुपर्ने बताए ।
उडान सुनिश्चित गर्नु सरकारको काम भएको र यात्रु खोज्ने काम निजी क्षेत्रले पनि गर्ने उल्लेख गर्दै उनले भने, “विमानस्थल चल्दैन भन्ने साेँचलाई तत्काल खारेज गर्नुपर्छ ।”
पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडान हुनुुपर्नेमा जोड दिए । उडान सञ्चालनका लागि सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तत्काल कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
विमानस्थलका उपनिर्देशक जसुधा सुवेदीले विमानस्थल अत्याधुनिक रहेको बताइन् । हालसम्म भएका नौवटा अन्तर्राष्ट्रिय उडानले पनि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या छैन भन्ने पुष्टि गरेको उनले बताइन् ।
नागरिक उड्डयन प्राधिकरण पोखराका प्रबन्धक अनुप जोशीले पोखराको आकाश साँघुरो भएको तथा वरपरका डाँडाले केही समस्या पारे पनि अन्तर्राष्ट्रिय उडानका लागि कुनै अवरोध नभएको बताए ।
विमानस्थल बने पनि त्यसलाई सघाउने खालका पूर्वाधार अझै बन्न नसकेको औँल्याउँदै उनले विमान कम्पनीलाई आकर्षित गर्न यात्रुको सुनिश्चितता पनि हुनुपर्ने खाँचो औँल्याए ।
प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर कृष्णप्रसाद पौडेलले जाजरकोट भूकम्पका बेला एक सय ७९ टन सामान बोकेर चिनियाँ जहाज पोखरा झरेको स्मरण गराए । उनले प्राविधिक रुपले समस्या रहेका जस्ता कुरा हल्लामात्र भएको जिकिर गरे ।
नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ओम शर्माले जहाज चल्नका लागि यात्रु हुनुपर्ने तर्क गरे ।
कार्यक्रममा सङ्घका महासचिव शोभा गौतम, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, पर्यटन परिषद्का महासचिव जीवन सापकोटालगायतले अन्तराष्ट्रिय उडान नहुनुका पछि भूराजनीति, नागरिक उड्डयन प्राधिकरणकै लापर्वाहीलगायत धारणा आइरहँदा प्राधिकरणले नै ती प्रश्नको जवाफ दिनुपर्नेमा जोड दिएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution