आज बालाचतुर्दशी: पाेखराकाे हरिहर आश्रमलगायतका शिवालयमा भक्तजनकाे भिड

  • पोखरा न्यूज
  • २०८१ मंसिर १५
आज बालाचतुर्दशी: पाेखराकाे हरिहर आश्रमलगायतका शिवालयमा भक्तजनकाे भिड

|तस्बिर : पवनमान गुभाजु

पाेखरा। मार्गशीर्षकृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्वका अवसरमा आज शतबीज छरिँदैछ । पाेखराकाे घार्मीस्थित हरिहर आश्रम, पञ्चासेलगायत विभिन्न शिवालयमा आज शतबीज छर्नेकाे घुइँचाे लाग्ने गर्दछ ।

यसैगरी काठमाडाैँकाे पशुपतिनाथ मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने छ ।

रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन शिवालय पुग्छन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि भीड लागेको छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले शिव मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । शतबीज भन्नाले हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्छन् ।

भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रसिद्ध छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

माता, पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद् गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ ।

तर कुल परम्परा अनुसार कति भक्तजन भने शुक्रबार पनि बरखी बारेकै अवस्थामा पशुपतिनाथमा आएर बत्ती बालेका छन् । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस