साहित्यकार दीपक समीप पुरस्कृत

पोखरा । साहित्यकार एवं लेखक दीपक समीप ‘प्रेम-शान्ति आख्यान पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले समीपलाई नगदसहित सम्मान गरेका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पुर्‍याएको भन्दै लमजुङ-पोखरा सम्पर्क समितिले समीपलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा सरुभक्तले विश्व साहित्यमै लोकप्रिय भएर पनि आख्यानका क्षेत्रमा लाग्ने व्यक्तिको कमी भएको बताए ।

आख्यानका क्षेत्रमा दिइने सम्मान र पुरस्कारको समेत अभाव भएको समयमा लमजुङ समितिले आख्यानका क्षेत्रमा लाग्नेका लागि पुरस्कार सञ्चालन गर्नु प्रशंसनीय भएको उनले बताए ।

समीपलाई आफूले पचासको दशकको सुरुदेखि नै एक सक्रिय साहित्यकारका रूपमा चिन्दै आएको भन्दै सरुभक्तले समीपलाई पुरस्कार दिएर समितिले योग्य प्रतिभा छनोट गरेको बताए ।

सो अवसरमा समीपले पुरस्कारले आफूलाई आख्यानका क्षेत्रमा थप मिहिनेत गर्ने प्रेरणा प्राप्त भएको बताए ।

पुरस्कारकी संस्थापक प्रेमकुमारी गुरुङले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएकाले साहित्यकारलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मनसायले पुरस्कार स्थापना गरेको बताइन् । उनले समयक्रममा पुरस्कारको अक्षयकोषमा रकम थप्दै जाने प्रतिबद्धता जनाइन् ।

समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा गायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष दीपकराज घिमिरे, प्रतिभा छनोट समितिका सदस्य लक्ष्मण थापा, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलल, प्रतिभा छनोट समिति संयोजक कल्याण पन्त, उपाध्यक्ष ईश्वर चिलुवाललगायतले बोलेका थिए ।

साहित्यकार कल्याण पन्तको संयोजक, लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको थियो ।

हरेक दुई-दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो ।

को हुन् समीप ?

लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आइरहेका साहित्यकारसमीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन् ।

उनको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह), नदीको राजमार्ग (लघुकथा सङ्ग्रह) कृति प्रकाशित छन् ।

उनले विभिन्न साहित्यिक पत्रिका समेत सम्पादन गरेका छन् । विशेषगरी गजलकारका रुपमा परिचित उनी कविता, गीत, गजल, मुक्तक सँगसँगै कथा र लघुकथा लेखनमा पनि उनले कलम चलाउँदै आएका छन् ।

समीपले यसअघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार-२०५४, राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार-२०५५, खुला मुक्तक प्रतियोगिता-२०५५(प्रथम), गजल साधना सम्मान-२०६३ (भूगोलभित्र नकोरिएको देश गजल सङ्ग्रहका लागि), समता काव्य सम्मान-२०६६, शिल्पी साहित्य सम्मान-२०६६ प्राप्त गरेका छन् ।

साथै उनले स्रष्टा साहित्य चौतारी पुरस्कार-२०६८, गजल प्रतिभा पुरस्कार-२०६९, अक्षरयात्रा सम्मान-२०७०, गजल सन्ध्या सम्मान-२०७०, मुक्तक मञ्च पोखरा सम्मान-२०७३, गजल मन्च मकवानपुर सम्मान-२०७४, लेखक कृति पुरस्कार-२०७९ (अक्षर अक्षरमा देश मुक्तक सङ्ग्रहका लागि), बहादुरानन्द स्मृति मुक्तक सम्मान-२०८० र अभिलेख सम्मान-२०८१ प्राप्त गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button