पर्वतको मालढुङ्गा-म्याग्दीको बेनी सडक कालोपत्र शुरु

  • पोखरा न्यूज
  • २०८१ मंसिर १५
पर्वतको मालढुङ्गा-म्याग्दीको बेनी सडक कालोपत्र शुरु

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने पर्वतको मालढुङ्गा-म्याग्दीको बेनी सडक कालोपत्र शुरु भएको छ ।

तेह्र किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका वडा नं १ माझीबस्तीदेखि जलजला गाउँपालिका वडा नं ८ लस्तीसम्मको खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्र गर्न शुरू भएको हो ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सब-इञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार माझीबस्तीदेखि डमुवाखोलासम्म शुक्रबार र शनिबार छ सय मिटर दूरीमा प्राइम कोट (बिटुमिन) बिछ्याएको र लस्तीसम्म थप तीन किलोमिटर कालोपत्रको लागि तयार भएको हो ।

तेह्र किलोमिटर दूरीको बेनी-मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी-जोमसोम-कोरला सडक आयोजना र एपेक्स-खड्का-कृष्ण जेभीबीच विसं २०७७ चैतमा रू ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

यसखण्डको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंले बताए ।

विभिन्न ठाउँमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ ।

विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकामा स्थानीयवासी उत्साही भएका जलजला गाउँपालिका-४ का वडाध्यक्ष भरत क्षेत्रीले बताए ।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा-बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस