तस्करको स्कोरपियोले किचेर सशस्त्र प्रहरीका सईको मृत्यु, प्रहरी नै शंकाको घेरामा !

  • पोखरा न्यूज
  • २०८१ मंसिर १६
तस्करको स्कोरपियोले किचेर सशस्त्र प्रहरीका सईको मृत्यु, प्रहरी नै शंकाको घेरामा !

सिराहा । सिराहामा तस्करको स्कोरपियोले किचेर एक सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ।

भारतीय सीमा नजिकै बडीयारपट्टी-१ कचनारी भित्री सडक खण्डमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षीय लक्ष्मणप्रसाद यादवलाई आइतबार बिहान तस्करको स्कोरपियोले किचर मृत्यु भएको हो ।

नेपालबाट भारततर्फ गइरहेको तस्करको स्कोरपियो रोक्न खोज्दा यादवलाई ठक्कर दिएर भाग्न लागेका थिए।

ठक्करबाट यादवको मृत्यु नभएपछि उनलाई स्कोरपिओ ब्याक गरेर पुनः किचेको प्रहरीको भनाइ छ।

सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्कोरपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए ।

उनले अहिलेसम्म ती स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाए ।

बीओपीमा कार्यरत सशस्त्रका सइ यादवको नेतृत्वमा पाँच जना र प्रहरी चौकी कचनारीबाट खटिएको असई बीरेन्द्रकुमार शाह नेतृत्वको पाँच जनाको संयुक्त मोटरसाइकल गस्ती टोलीको बीचमा घटना हुँदा पनि स्कोरपियो भाग्न सफल हुनुले घटनालाई थप सशंकित बनेको एक प्रहरी अधिकृत बताउँछन्।

उनले भने, ‘यो सामान्य घटना होइन, १० जना हतियारसहितको टोलीमा एक जना प्रहरीको मृत्यु भएको छ, यसले प्रहरी आफैँ शंकाको घेरामा परेको छ।’

ती प्रहरी अधिकृतले भने, ‘जिल्लाका प्रहरी, प्रशासन प्रमुखकै मिलेमत्तोमा यस क्षेत्रबाट निर्वाधरुपमा मदिरा भारततर्फ तस्करी भइरहेको थियो, त्यो पछिल्ला दिनमा पक्राउ परेका घटनाले पनि देखायो, यो घटनाले भने मदिरामात्र नभई अन्य सामग्री पनि तस्करी भएको हुन सक्ने देखाउँछ।’

उनले थपे, ‘घटना दशगजादेखि चार सय मिटरको दूरीमा नेपालतर्फ भएको हो, मदिरा तस्करले नेपालमा यति ठूलो उपद्रो गर्दैन, भारतमा मात्र उनीहरुलाई डर हो, यो गाडीमा सुपाडी, सुकमेल, प्रतिवन्धित लागूऔषध गाँजा वा त्यस्तै कुनै बहुमूल्य सामाग्री हुनुपर्छ।’

यता परिवारजनले घटनाको उचित छानविन गर्नुपर्ने माग गर्दै पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहानमा चक्काजामसहित प्रदर्शन गरिरहेको छ।

उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई निलम्वन गरी घटनाको छानबिन गर्नुपर्ने माग गर्दै आएका छन्।

यादवको शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस