विश्वप्रसिद्ध गढीमाई मेला आजदेखि [धार्मिक मान्यता र इतिहाससहित]

पाेखरा। पशुबलिकै कारण विश्वप्रसिद्ध बाराको गढीमाई मेला सोमबारदेखि सुरु भएको छ । बाराको बरियापुरस्थित गढीमाईमा प्रत्येक पाँच वर्षमा मेला लाग्ने गर्दछ । पशुबलि दिइने यो मन्दिरमा दुई साता अगाडिदेखि नै मेला भर्न आउनेको भीड सुरु भएको छ ।

यो मेला एक महिनासम्म लाग्ने मेला लाग्छ । गढीमाई मेला हेर्न देश तथा छिमेकी राष्ट्र भारतबाट पनि लाखाैँ संख्यामा भक्तजन आउने गर्दछन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मेलाका लागि मन्दिरआसपासका खेतमा टहरा निर्माण गरेर विभिन्न पसल राखिएका छन् ।

यस मन्दिरमा यो वर्ष १५ हजार भन्दा बढी राँगाको बली चढ्ने अनुमान समितिको छ । मन्दिरमा पञ्चवर्षीय मेला बडादशैँको घटस्थापनाको दिन पूजा भएसँगै शुरु भएको थियाे ।

विशेष मेला कहिलेदेखि शुरु हुन्छ ?

मङ्सिर शुक्लपक्ष सप्तमी तिथिका दिन झाँक्रीले विधिपूर्वक विशेषरूपमा तान्त्रिक पूजा गरी पञ्चबलीबाट बलि दिने परम्परा छ। सोही अवधिमा विशेष मेला शुरु हुन्छ र लाखौँ मानिस देशी-विदेशी मेला भर्न आउँछन् । मेलाको समाचार सम्प्रेषणका लागि संसारकै सञ्चारकर्मी बरियारपुर केन्द्रित हुने गर्दछन् ।

यसपटकको मेलामा ६० लाख भन्दा बढी दर्शनार्थी आउने लक्ष्य लिएको मेलाका प्रवक्ता विजय स्वर्णकारले बताए। एक महिनासम्म लाग्ने मेलामा नेपाल भारतलगायत सार्क राष्ट्रका श्रद्धालु दर्शन गर्न गढीमाई आउने गर्दछन्।

मेलामा मनोरञ्जनका लागि विभिन्न किसिमका ठूला-ठूला खेल तमासा मौतका कुँवा, सरकस, रोटेपिङलगायत प्रबन्ध गरिएको छ । मेला अवधिमा शान्ति, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए।

संसारमै सबैभन्दा बढी बलि चढाउने भएकाले गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । पशु अधिकारकर्मीले बेला-बेलामा पशुबली प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता अनुसार भाकल पूरा गराउन भक्तजनले बलि दिने गरेका छन् ।

गढीमाई मन्दिरमा मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच जन्तुलाई पञ्चबली चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन् । मन्दिरका मूल तान्त्रिक दुखन धामीले आफ्नो शरीरका पाँच स्थानबाट रगत निकालेर चढाएपछि गढीमाई मन्दिरमा बलि सुरु हुने गर्दछ।

तान्त्रिक दुखन धामीको मृत्यु भएपछि मान्यता अनुसार उनको जेष्ठ छोरा तान्त्रिक उमाशंकर धामी कछाडीयाले यसपटक आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी पाँच अंगबाट रगत निकालेर चढाएपछि बलि शुरु हुन्छ ।

अघिल्लो मेलामा  ३५ हजार भन्दा बढी राँगा र हजारौँको संख्यामा बोकाको बलि दिइएको थियो। बोका, राँगाको बलि नदिने भक्तजनले मन्दिर छेउमै परेवा उडाउने गर्छन् ।

गढीमाईको धार्मिक मान्यता र इतिहास

किम्बदन्ती अनुसार हजारौँ बर्ष पहिले जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई आफ्नो गाउँमा लैजाउ अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुःख पीडा समाप्त हुनेछन् भनिन्।

हत्या अभियोगमा जेलमै सजाय भोगिरहेका भगवान दास थारुलाई सपनामा दर्शन दिनुभएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशूल बाराको वरियारपुरमा ल्याएर गाढेकाे किंवदन्ती छ । तिनै थारुका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेख र पूजाआजा गर्दै आएकf बताइन्छ ।

देवीकै आदेशअनुसार जेलबाट छुटकारा पाएपछि थारुले फर्किँदा ल्याएको त्रिशूल बरियारपुरस्थित गाडेका थिए । सोही स्थानमा अहिले गढीमाई मन्दिर छ । मन्दिरका संस्थापक पूजारी भगवान दाश थारुका सन्तानबाट दशाैँ पुस्ताका मंगल चौधरी हाल मन्दिरका मूल पूजारी छन्। यही किंवदन्तीले गढीमाईप्रति भक्तजनमा आस्था र जनविश्वास बढाएको छ।

गढीमाईमा कसरी शुरु हुन्छ बली ?

तिथिअनुसार मार्गशुक्ल सप्तमीका दिन मन्दिरका मूल पूजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, हाँस, सुङ्गुर र राँगा  गरी पञ्चबली दिएपछि मन्दिरमा सर्वसाधारणका लागि पनि बलि खुला हुने मन्दिरका मूल पूजारी मंगल चौधरी बताउँछन्।

बलि शुरु हुनुअघि मान्छेको शरीरका पाँच स्थानबाट रगत चढाउने परम्परा छ। जसलाई नरबली भनिन्छ । रौतहटको गुजरा नगरपालिका सिमरी गाउँका मूल तान्त्रिक दुखन धामीले गढीमाईको विशेष पूजा तथा आराधानासँगै गढीमाईका मूल पूजारी मंगल चौधरीको साथ मिलेर आफ्नो शरीरबाट रगत निकाली नरबली स्वरुप रगत चढाउँदै आएका छन् ।

केही समयअघि तान्त्रिक धामीको निधन भएपछि मान्यता अनुसार उनको जेष्ठ छोरा उमाशंकर धामी कछाडीयाले मूल तान्त्रिकको रुपमा आफ्नो शरीरका पाँच स्थानबाट रगत निकालेर गढीमाई लाई चढाउने उनले बताए ।

‘त्यसअघि मन्दिरमा रातभरि पूजा हुन्छ, पूजाआराधनाको प्रभावले ब्रह्मस्थानमा आफै बत्ती बल्छ, बती बलेपछि मात्र पञ्चबली हुन्छ’, मूल पूजारी चौधरी बताउँछन् ।

परम्परा र मान्यता अनुसार हिन्दू धर्म संस्कृतिमा पशुबलीलाई शक्तिसँग जोडेर हेर्ने प्रचलन सदियौँदेखि रही आएको छ । शक्ति स्वरुपा देवीलाई खुशी पार्न परापूर्वकालदेखि नै बली अनिवार्य भएको मानिँदै आएको छ ।

विश्व प्रसिद्द गढीमाई मन्दिरमा सन्तान प्राप्ति, रोग निको पार्न, सुस्वास्थ र दीर्घायूका लागि धनधान्य प्राप्ति तथा चाहनाअनुसार भाकल पूरा हुनेले बलि दिने गरेको जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button