पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस [तस्बिर]

पोखरा । ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपांगता भएका व्यक्तिको ३३औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा र्‍यालीसहित कार्यक्रम गरी मनाइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दिवसको अवसरमा पोखराको चिप्लेढुङ्गा मानव अधिकारचोकाबाट शुरु भएको र्‍याली न्यूरोड हुँदै सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

र्‍यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिको सहभागिता थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले महानगरले निर्माण गर्ने पूर्वाधार अपांगमैत्री बनिरहेको बताइन् ।

महानगरअन्तर्गतका कार्यलय निर्माण भएका भवन अपांगमैत्री बनेका छन् तर ब्यक्तिगत घरमा लागू गर्न कठिन रहेको भन्दै उनले छलफल गरेर अघि बढ्ने बताइन् ।

विगतका वर्षदेखि महानगरले निर्माण गर्ने सबै संरचना अपांगमैत्री बनिरहेको उनले दावी गरिन् । उनले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्न भूमिका खेलेको बताइन् ।

उपप्रमुख गुरुङले अपांगता भएकालाई हेर्ने व्यवहार, सोँच र दृष्टिकोण परिर्वतन हुनुपर्नेमा जोड दिइन् । उनले समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गरिन् ।

महानगरले अपांगता भएका व्यक्तिका लागि ऐन, कानून निर्माण गरेको र बजेटको समेत व्यवस्था गरेको भन्दै केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिको सुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताइन् ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, लोचना अधिकारी, अन्जना केसी, विष्णु सिग्देल, श्रीकान्त सापकोटा, दृष्टिविहीनको तर्फबाट गिरीधारी सुवेदी, बहिराहरुको तर्फबाट सुनिता थापा, श्रवणदृष्टिविहीनको तर्फबाट पुष्पराज रिमाल, बौद्धिक अपांगताको तर्फबाट रामनारायण श्रेष्ठ, बहुअपांगताको तर्फबाट सान्त्वना केसी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल, मनोसामाजिक अपांगताको तर्फबाट अर्जुन सुनारलगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोलेका थिए ।

कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button