हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण

  • पोखरा न्यूज
  • २०८१ मंसिर २०
हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण

पोखरा । पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ ।

पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बीच यसअघि भएको सम्झौता बमोजिम तयार प्रतिवेदन अध्ययन टोलीले नगर प्रमुख आचार्यलाई बुझाएको हो ।

पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो गरी अध्ययन गरी प्रतिवेदन तयार गरेको छ ।

यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेको कोरियाली रेलमार्ग अनुसन्धान संस्थानले पोखराका ८४ वटा बस रुटमा एक हजार दुई ८६ स्थानमा बस स्टप निर्माण गर्नुपर्ने तीन स्थानमा बस टर्मिनल आवश्यक रहेको बताएको छ ।

परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ ।

पोखराको मुख्यचोक पृथ्वीचोकलाई थप विस्तार गरिनेछ । तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ ।

यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।

विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमूना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ ।

परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । प्रतिवेदन अनुसार परियोजनाको अन्त्यमा पोखराको सार्वजनिक सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।

पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नुपर्ने छैन भने चालकले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।

क्याम्पिङ्चोकदेखि बगर (बस स्टप १९), निर निवासदेखि शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोकदेखि महिमा किराना (बस स्टप १८) सम्म गरी तीन वटा मुख्य बस चल्ने रुट हुनेछन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनामार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्नुका साथै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ । यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायले साझेदारी गर्नेछन् ।

यस परियोजनाको पाइलोटिङ यही महिनाको अन्त्यबाट सुरु गरिनेछ । यसका लागि आवश्यक स्थानीय व्यवस्थापनको काम पोखरा महानगरपालिकाले गर्नेछ भने आवश्यक प्रविधि र उपकरण भने कोरियाली टोलीले गर्नेछ । पहिलो चरणमा पोखराको लामाचौर-छोरेपाटन रुटमा छ स्थानमा बस स्टप निर्माण गरी परीक्षण गरिनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस