प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी : मन्त्री थापा

  • पोखरा न्यूज
  • २०८१ मंसिर २२
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको बताएका छन् ।

शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा कार्यक्रममा उनले बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार गर्न उक्त कार्यक्रम सफल भएको दावी गरे ।

मन्त्री थापाले गण्डकी प्रदेशमा पनि सिमान्तकृत समुदाय, महिला र युवालाई रोजगारीको अवसर प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उल्लेखनीय काम भएको बताए ।

“गण्डकी प्रदेशमा हामीले यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि विभिन्न प्रयास गरिरहेका छौँ”, उनले भने, “हामीले रोजगारका अवसर सिर्जना गर्न मात्र होइन स्थानीय स्तरमा सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र खेलकुद गतिविधिमार्फत युवालाई सशक्त बनाउन पनि काम गरिरहेका छौंँ ।”

मन्त्री थापाले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनमा बजेट अभाव र संरचनागत समस्या भएकाले चुनौती थपिएको बताए ।

ग्रामीण क्षेत्रका जनतालाई रोजगारीका अवसर उपलब्ध गराउन समन्वयको खाँचो भएको मन्त्री थापाको भनाइ छ । स्थानीय, प्रदेश र संघ सरकारले समन्वयात्मक तवरले कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याए ।

“संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच अझ राम्रो समन्वय आवश्यक छ, साथै निजी क्षेत्र र अन्य साझेदारको सहभागिताले कार्यक्रमलाई अझ सुदृढ बनाउन सकिन्छ”, उनले भने ।

गण्डकी प्रदेश सरकार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामाजिक सुरक्षाको प्रत्याभूति दिन, आर्थिक अवसर सिर्जना गर्न र दीर्घकालीन विकासका आधार तयार गर्न प्रतिबद्ध रहेको उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रघुराम विष्टले नेपालको संविधानले नै रोजगारी हकको ग्यारेण्टी गरेकाले यसको आवश्यकता र औचित्यलाई मध्यनजर गर्दै अगाडि बढनुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्न सकेमात्र सफलता मिल्ने बताए । वैदेशिक रोजगारीका क्रममा देखिएका ठगीका विषयलाई व्यवस्थापन गर्न कार्यगत एकताको खाँचो रहेको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले रोजगारसँग जोडिएको विषयमा सरकार संवेदनशील हुन आवश्यक रहेको र महानगरसमेत त्यसैअनुरुप लागिरहेको बताए ।

बरेङ गाउँपालिकाका रोजगार संयोजक केशवराज क्षेत्रीले प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो र विपन्नसँग जोड्ने कार्यक्रम भएको अनुभव सुनाए ।

कार्यक्रम निर्देशक प्रदीप कुमार कोइरालाका अनुसार कार्यक्रममा गण्डकीका ११ जिल्लाका ८५ वटै पालिकाका रोजगार संयोजक सहभागी छन् ,



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस