पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ऋग्वेदजस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थ नेपाली समाजका सांस्कृतिक धरोहर रहेको बताएका छन् ।
मुक्त फाउन्डेसन पोखरा र गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित दुई दिवसीय ऋग्वेद र हिमालयः दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले हिमालय क्षेत्रको सांस्कृतिक तथा धार्मिक परिदृश्यलाई ऋग्वेदले गहिरो रूपमा प्रभाव पारेको बताए ।
यो मानव जातिको सबैभन्दा पुरानो र प्रभावशाली ग्रन्थमध्ये एक भएको भन्दै उनले यस्ता ग्रन्थ परम्परागत धर्मग्रन्थ मात्र नभएर सांस्कृतिक धरोहर रहेको बताए ।
नेपाललगायत विभिन्न देशका वेदका ज्ञाताले सम्मेलनमा ऋग्वेद र हिमाली सभ्यताका आयामसम्बन्धमा गरिने छलफल फलदायी हुने उनले विश्वास व्यक्त गरे ।
सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै धर्म, संस्कृति तथा पर्यटनसम्बन्धी नीतिनिर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिक लाभान्वित हुने उनले बताए ।
वैदिक ज्ञान एवं आधुनिक समाज विज्ञानका ज्ञाताका बीचमा वस्तुगत अध्ययनका लागि सहकार्यको नयाँ सम्भावना खुलेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले हिमाली समाज र संस्कृतिका मूल्य र मान्यताको जागरणको ढोका खुल्ने धारणा राखे ।
ऋग्वेदीय सिद्धान्तको पुनरावलोकन र पुनर्जीवन प्रदान गर्ने उद्देश्यका साथै हिमालय संस्कृतिमा परेको प्रभाव र आधुनिक चुनौतीको समाधानका लागि सम्भाव्य अन्वेषण गर्ने प्रयासले मूर्तरूप लिन सकोस् भनी उनले शुभेच्छा व्यक्त गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुुर खड्का बिखर्चीले संस्कृति र पर्यटन मूल मन्त्रका साथ ऋग्वेदीय परम्परा र हिमालय क्षेत्रका विविध संस्कृतिसँगको यसको सम्बन्धको गहिरो अन्वेषण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन गरिएको बताए ।
देशविदेशका विज्ञ तथा अनुसन्धाता सम्मिलित कार्यक्रममा ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयाम, हिमालय संस्कृति र पर्यटनका बारेमा अनुसन्धानात्मक लेख प्रस्तुत गरिने र विद्वत छलफल गरिने जानकारी दिँदै मुक्त फाउन्डेसनका दामोदर त्रिपाठीले कार्यक्रममा २८ वटा कार्यपत्र प्रस्तुत गरिने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution