
पाेखरा । चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ग्यास बुलेट पृथ्वी राजमार्गकाे कृष्णभीरमा दुर्घटनामा परेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ मा आज बिहान ग्यास बुलेट दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल भीरमा खसेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन ।
अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।
सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
ग्यास चुहावट भएको पाइएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।





