संविधान र सङ्घीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री

  • पोखरा न्यूज
  • २०८१ मंसिर २४
संविधान र सङ्घीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधान र सङ्घीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् ।

नेपाल बार एशोसियशनको केन्द्रीय कार्यकारिणी परिषद्को ५०औँ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहे जस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने बताए ।

संविधानअनुसार प्रदेश कानुन बन्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सात प्रदेशका मुख्यमन्त्रीको आवाज केन्द्र सरकारले नसुन्दा कानुन व्यवसायीले संविधान कार्यान्वयनमा आवाज उठाउन नसकेको जिकिर गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विधिको शासन कायम गर्न कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भएकाले देशलाई सही बाटोमा हिँडाउने दायित्व कानुन व्यवसायीको रहने बताए ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बादचनले अदालत र बारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले बारलाई पन्छाएर अदालत एक्लै अगाडि बढ्न नसक्ने बताए ।

न्यायसम्पादनमा सहयोगी भूमिका खेल्ने कानुन व्यवसायीको योगदान महत्त्वपूर्ण हुने बताउँदै उनले न्याय क्षेत्रका बारेमा घनिभूत छलफल गरी विकृति र विसङ्गति हटाउनुपर्नेमा जोड दिए ।

नेपाल बार एशोसियशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले वर्तमान प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बारलाई बाइपास गरेर अगाडि बढ्न खोजेको आरोप लगाए ।

“हामी बेन्च र बारको सम्बन्ध बलियो बनाउन चाहन्छौँ, उनले भने, “बारले उठाएका माग गलत छैनन् ।”



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस